काठमाडौ। वरिष्ठ नशारोग विशेषज्ञ डाक्टर उपेन्द्र देवकोटाको मंगलबार अपरान्ह पशुपति आर्यघाटको विद्युत शवदाहगृहमा अन्त्येष्टि गरिएको छ। सोमबार साँझ निधन भएका डाक्टर देवकोटाको पार्थिव शरीरमा पत्नी डाक्टर मधु देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले दागवत्ती दिएका थिए।

डाक्टर देवकोटाका तीन छोरीहरुले देवकोटाको शवलाई वोकेर पशुपति आर्यघाटवाट विद्युतीय शवदाहगृहसम्म लगेको दृश्य हेर्ने सवैका आँखा रसाएका थिए। छोरीहरुले पिताको शवलाई वोकेर पितालाई दागबती दिएको दृश्य अत्यन्त भावविव्हल नै भएको थियो।

पित्तथैलीको क्यान्सरका कारण ६५ वर्षमा निधन भएका डा.देवकोटाको पार्थिव शरीरलाई मंगलबार विहान ८ बजेदेखि बाँसबारीस्थित न्युरो अस्पताल प्रांगणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। निधनपछि देवकोटालाई उनको इच्छा अनुसार निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको थियो।

दिउँसो १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको देवकोटाको त्यसपछि शवयात्रा सुरु गरिएको थियो। लामो समय बेलायतमा उपचार गराएका देवकोटा स्वदेशमै देहत्याग गर्ने इच्छा बमोजिम नेपाल फर्किएका थिए।
प्रकाशन मिति–२०७५ साल असार ५ गते मंगलवार ।