काठमाडौं । कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका बिभिन्न विधाहरुलाई विश्वमाझ चिनाउने प्लेटफर्मको रुपमा अन्तरराष्ट्रिय स्तरमा स्थापित ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ ले १०२ बर्षका नेपालका शताव्दी पुरुष डा.सत्यमोहन जोशीलाई काउन्सिलको मानार्थ विशिष्ट मानार्थ सदस्यता प्रदान गरेर विशिष्ट सम्मान दिने कार्य भएको छ।

सिद्धहस्त बरिष्ठ इतिहासविद डा.सत्यमोहन जोशीको ललितपुर बखुम्बहालस्थित निवासमा नै पुगेर अध्यक्ष श्रीदेव बिएल नेतृत्वको ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ टोली नै पुगेर विशिष्ट सम्मान प्रदान गरेको हो। सम्मान ग्रहण गरेपश्चात शताव्दी पुरुष डा.जोशीले ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’को लक्ष्य तथा उदेश्यले सगर चुम्न सफल होस् भनेर शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै, चलचित्र क्षेत्रबाट नेपालको पहिलो नायिका भुवन चन्द, हास्यसाम्राज्ञी बसुन्धरा भुषाल, बरिष्ठ अभिनेत्रीहरु मिथिला शर्मा, शर्मिला मल्ल र सूर्यमाला खनाल, बरिष्ठ अभिनेताहरु शिव श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, सरोज खनाल र कृष्ण मल्ल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र बरिष्ठ निर्देशक मोहन निरौललाई मानार्थ सदस्यता प्रदान गरियो भने चित्रकलाबाट जया शर्मा, जात्रा तथा संस्कृतिविद् मनोज नेवा र उपन्यासकार निजिरोष श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरिएको छ।काउन्सिलको सद्भावना दुतको रुपमा बरिष्ठ कलाकार क्याप्टेन विजय लामा नियुक्त गरिएको छ।

हालै ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ को चलचित्र लेखक, निर्देशक, निर्देशक तथा अभिनेता श्रीदेव बिएलको नेतृत्वमा काउन्सिलको नेपाल कार्यसमिति गठन भएको हो । जसको उपाध्यक्षमा जीवन कुमार पराजुली, महासचिवमा नरेशध्वज श्रेष्ठ, सचिवमा सूर्यबहादुर रासकोटी, कोषाध्यक्षमा सवेरा नकर्मी श्रेष्ठ, सदस्यहरुमा शारदा खड्का अर्याल र दीपक विष्ट गौली रहेका छन् ।

त्यस्तै, सल्लाहकारमा संस्कृतिविद् बदनलाल न्याछोर, पर्यटनविद् तथा नेपाल पर्यटन बोर्डका पूर्व निर्देशक कृष्ण कुमार अर्याल, नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशी, अधिवक्ता सर्वज्ञराज नायो, कानुनी सल्लाहकारमा आशिष शर्मा रहेका छन् ।

इतिहास
जर्मनीको बर्लिनमा ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को हेडक्वाटर रहेको छ । यसका संस्थापक तथा सेक्रेटरी जनरल क्रिष्टियन बि.कर्ष हुन् । कर्षले नेपाल च्याप्टरलाई बधाई र सफलताको भिडियो सन्देश पठाएका थिए ।

प्राचिन समयमा ग्रीसबाट ओलम्पिकसँगै शुरु भएको डेल्फिक बिभिन्न कारणले बन्द भएको थियो। प्राचिन ग्रीसका शासकहरुद्वारा यि दुवैमाथी रोक लगाईएको थियो। ओलम्पिक सन् १८९४ मा पुनः शुरु भयो भने डेल्फिक त्यसको एक सयबर्ष पछि सन् १९९४ मा पुनः सुचारु भएको थियो।

प्राचिन ग्रीसको डेल्फी भनिने स्थानबाट डेल्फिक शुरु भएको मानिन्छ ।
प्रकाशन मिति–२०७८ साल कात्तिक ४ गते विहीवार ।