सिन्धुली। तपस्वीको भेषमा बस्दै आएका राम बहादुर बमजनलाई पक्राउ गर्न जिल्ला अदालत सिन्धुलीले अनुमति दिएको छ। इमेज खवरका अनुसार, अदालतको अनुमति पाएसँगै नेपाल प्रहरीको टोली आज शुक्रवार बिहान बमजनको सिन्धुलीस्थित आश्रममा पुगेको छ। आश्रमको बमजन बस्ने मूलघरमा ताला लगाईएको भेटिएको छ।

प्रहरीले आश्रम वरीपरी र आसपासको जंगलमा खोजेपनि बमजनलाई भेट्न भने सकेको छैन्। बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ।आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया रूम्बा बमजनका आश्रमबाट बेपत्ता पारिएका छन्।

त्यस्तै बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाटै बेपत्ता छन्। बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दाकुट्दै मारिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। त्यस्तै बमजनले उनकै आश्रममा बस्ने नावालक आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप छ।

गंगामायाले डेढ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्।
प्रकाशन मिति–२०७६ साल माघ २४ गते शुक्रवार ।