सर्लाही। तपस्वी रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरीको खोजीक्रम व्यापक रहेको छ। तर, हालसम्म तपस्वी बमजन फरार नै रहेको छ। प्रहरीले तपस्वी बमजन भेटिन सक्ने संभावित स्थानहरुमा व्यापक सर्च अभियान नै शुरु गरेको छ।

सर्लाहीको प्रहरी टोली शुक्रबार दिउँसो चुरेभेगस्थित लालबन्दी नगरपालिका–१२, पत्थरकोटमा रहेको आश्रममा पुगेको थियो। त्यसैगरेर, सिन्धुलीको कमलामाई नगरपालिपालिका ८ पहिरेमा रहेको बमजनको आश्रममा पनि प्रहरीले उनको खोजी गरेको थियो।

बमजनमाथि आनी र अनुयायीलाई बेपत्ता पारेको तथा बलात्कार गरेकोसमेत आरोप छ। मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ, मकवानपुरका सञ्चलाल बाइबा र बाराका सुरेशकुमार आले मगर बेपत्ता भएको भनेर उजुरी परेको थियो। उनीहरुको हत्या भएको आशंका गरिए पनि प्रहरीले प्रमाण भेट्टाउन सकेको छैन्।

अदालतले बमजनलाई पक्राउ गर्न प्रहरीलाई विहीबार अनुमति दिएको थियो। आनी एवं अनुयायीहरु बेपत्ता पारेको चर्चा भएपछि जिल्लाका सुरक्षा अधिकारीहरु यसअघि पनि पटक–पटक पत्थरकोटस्थित आश्रममा पुगेर निरीक्षण गर्दा बमजन भेटिएका थिएनन्। बमजनको आश्रमका अनुयायीहरुले उनको अवस्था बारे नबताउने गरेको प्रहरीले जनाएको छ।

यसैबीच केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि यस प्रकरणमा अनुसन्धान जारी रहेको बताएको छ भने प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाकै प्रहरी कार्यालयलाई बमजन खोजी गर्न सर्कुलर जारी गरेको छ।प्रहरीले सर्लाही, मकवानपुर, सिन्धुपाल्चोक, लमजुङ, मकवानपुर लगायतका क्षेत्रका रहेका आश्रममा पनि निगरानी बढाएको बताइएको छ।


प्रकाशन मिति–२०७६ साल माघ २५ गते शनिवार ।