ललितपुर। कालले छाड्ला तर, तालले छाड्दैन्। त्यसमाथि, सवैको मनको राजा मनराजा नकर्मीको तबलाको तालमा त काल आएपनि अवश्य हार्ने निश्चित छ। तबलाको तालमा काललाई पनि हराउने यिनै तबलाका महान उस्ताद मनराजा नकर्मीको सम्मानमा मनराजा नकर्मी एकल साँझ २०७५ हुने भएको छ।

नेपालमण्डल टेलिभिजनको आयोजनामा मनराजा नकर्मी एकल सांझ २०७५ हुने भको हो। यही माघ ५ गते शनिवारका दिन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा मनराजा नकर्मी सांझ हुने आयोजक नेपालमण्डल टेलिभिजनका प्रवन्ध–निर्देशक प्रकाशकाजी डंगोलले जानकारी दिएका छन्।

ललितपुरको पाटनढोक स्थित अशोक हलमा आयोजित पत्रकार सम्मेलनमा प्रवन्ध–निर्देशक डंगोलले नेपालको कलाक्षेत्रको शोभा बढाउन क्रियाशील अत्यन्त प्रभावशाली संगीतज्ञ नकर्मीको सम्मानमा सम्मान सांझको आयोजना गर्न लागेको बताएका छन्।

नेपाली भाषाका १३ वटा गीति संग्रह, नेपालभाषाका ९ वटा गीति संग्रह, ३ वटा धून संग्रह, ८ वटा चलचित्रका विख्यात संगीतकार नकर्मी रेडियो नेपालका मुख्य संगीत संयोजक पनि हुन्।

नेपाली संगीतको क्षेत्रमा अनवरत लागेको चारदशक अवधि पुगिसक्दाको अवसरमा यतिधेरै महत्व दिएर नेपालमण्डल टेलिभिजनले एकल साँझ कार्यक्रम गर्न लागेकोमा पत्रकार सम्मेलनमा संगीतज्ञ उस्ताद मनराजा नकर्मी निक्कै भावुक बने। भावुकतामा बोल्ने क्रममा आँशु लुकाउनै सकिनन्। गला अवरुद्ध बनाए।

भावुकतामा नकर्मी रोएपछि ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्य पनि भावुक बने। मनराजा नकर्मीका अत्यन्त प्रिय मित्र शाक्यले पनि आँशु लुकाउनै सकेनन्। शाक्यको आँखावाट पनि आँशु झरिहाल्यो।

पत्रकार सम्मेलनमा आयोजक नेपालमण्डल टेलिभिजनका अध्यक्ष मंगल महर्जन लगायत संगीत अन्वेषक प्रकाश सायमी, कमेडी किङ मदनकृष्ण श्रेष्ठले पनि मनराजा नकर्मीको व्यक्तित्व तथा संगीतको बारेमा मज्जाले बोलेका थिए।

मनराजा नकर्मी सांझमा दिनेशराज रेग्मीको संयोजकत्वमा २० जना बाद्यबादकहरुको प्रस्तुति रहने भएको छ। दुर्गालाल श्रेष्ठ, भीमवहादुर नकर्मी, डा.रामविक्रम सिंजापति,डा.कृष्णहरि बराल, नातिबज्र, केशवराज राजभण्डारी, सुरेन्द्र राना, सुरेशकुमार कार्की,डा.दीर्घसिंह बम, आनन्दरत्न बज्राचार्य,डा.सुनलाला थापा, हेमन्त विवश, राजकुमार श्रेष्ठ, निर्मलरत्न शाक्य, रमेश गाउँले, देवदत्त भट्ट, तुलसी महर्जनका गीत–रचनाहरुमा मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान, कुन्ती मोक्तान, धनवहादुर गोपाली, जुजुकाजी रंजित, स्वयम्भुराज शाक्य, निशा देसार, टीका प्रसाई, संगीता थापा शाक्य, यम बराल, आनन्द कार्की, विश्व नेपाली, दीपक लिम्बू, सन्तोष लामा, रमना श्रेष्ठ, रत्नशोभा महर्जन, रामचन्द्र काफ्ले, सरिता शाही, मेनुका पौडेल, प्रकाश तिमल्सिनाका आवाजमा गीत गुञ्जिने भएको छ।

साथमा मनराजा नकर्मीका चर्चित गीतहरुमा लोकप्रिय कलाकारहरुको बेजोड नृत्य प्रस्तुत हुने भएको छ। त्यसको अलावा संगीतकार नकर्मीकी सुपुत्री लोकप्रिय अभिनेतृ आशिष्मा नकर्मीको पनि एकल नृत्य प्रस्तुत हुने भएको छ।
प्रकाशन मिति–२०७५ साल पुस २७ गते शुक्रवार ।