jhapako-jadoकाठमाडौ। गर्मीमा अति गर्मी हुने र जाडोमा अति जाडो हुने नेपालको तराईका जिल्लाहरुमा मंसीरको तेश्रो सातादेखि निक्कै चिसो बढ्न थालेको छ। चिसो हुन थालेपछि मोटरसाइकल चालकहरुले पनि मोटरसाइकलमा बस्दा पनि सिरक ओढ्न थालेको दृश्य तराईका जिल्लाहरुमा देखिन थालेको छ।

मौसममा बदलाव आएको कारण एक्कासी चिसो बढेको हो। चिसोबाट बालबालिका, बृद्धबृद्धा, गर्भवती महिला विद्यार्थीलगायत चौपाया प्रभावित बनेका छन् । मध्य तथा सुदूरपश्चिमका बर्दिया, बाँके, कैलाली कञ्चनपुर लगायतका जिल्लामा एक्कासी चिसो बढ्दा जनजीवन प्रभावित बनेको हो।

दिनभरी बादल लागेर घाम नदेखिने र बाक्लो हुस्सुले झनै जनजीवन कष्टकर बनाएको छ । चिसोले गर्दा मजदुर, बालबालिका र बृद्धबृद्धामा निमोनियाको समस्या देखिन थालेको जिल्ला अस्पताल बर्दियाले जनाएको छ। चिसोमा अनावश्यक रुपमा घरबाहिर नजान, झोलिलो तातो पदार्थहरु पिउन, न्यानो कपडा लगाउन तथा आगो ताप्न स्वास्थ्यकर्मीहरुको सुझाव छ।
प्रकाशन मिति–२०७३ साल मंसीर १५ गते बुधवार ।