काठमाडौं। व्यक्तिगत खर्च तथा लगानीमा प्रत्येक हप्ता चक्रपथ सफाई अभियान कार्य हुंदैआएको छ। हेभी इक्वीप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष तथा हजुरलाई नमस्ते कंपनीका प्रमुख तारावहादुर कुँवरको एकल प्रयासवाट चक्रपथ सफाई अभियान कार्यक्रम प्रत्येक हप्ताको शनिवार संचालन हुंदैआएको हो।

यो शनिवार ७१ औं हप्ताको सफाई अभियान पनि संपन्न भएको अभियानकर्ता कुँवरले भिजन संसार डटकमलाई बताएका छन्।

विशेषत चक्रपथको कलंकी देखि स्वयम्भु सीतापाइला चोकसम्मको सफाई अभियानमा प्रत्येक हप्ता जुट्दैआएका कुँवरलाई हरेक हप्ता २१ देखि २ सय २५ जनासम्मले सफाईमा साथ दिदैआएका छन्।

यस सफाई अभियानमा स्काभेटर,डोजर देखि ब्रुमर समेत प्रयोग गर्ने गरिएको छ।

प्रत्येक हप्ता चक्रपथ सफाई अभियानका लागि नगद २५ हजार खर्च गर्दैआएका कुँवर जनमानसमा बाताबरणीय सफाईको चेतना अभिबृद्धि गराएर शहरलाई सफा–सुन्दर बनाउने प्रमुख उदेश्य रहेको बताउंछन्। सरकारको मात्र मुख ताकेर बस्ने सोचलाई बदलेर आफूले सक्दो सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गर्न आफूले यस अभियानलाई निरन्तरता प्रदान गर्दैआएको कुँवरले भनेका छन्।

यस अभियानले गर्दा कलंकी देखि सीतापाइला स्वयम्भु   र गोगंबु बसपार्कसम्मका चक्रपथ क्रमिक रुपमा सफा बन्दैआएको र यसक्षेत्रका स्थानीयमा पनि सफाईप्रति जनचेतना अभिबृद्धि हुंदैआएको दावी कुँवरले गरेका छन्। यस अभियानलाई निरन्तरता दिएर पूरै चक्रपथमा गर्ने आफ्नो योजना रहेको भनाई पनि कुँवरको रहेको छ।


प्रकाशन मिति–२०७५ साल पुष ७ गते शनिवार ।