काठमाडौं। पोखरावाट जोमसोमका लागि आइतबार बिहान उडेको तारा एयरको ९–एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। विमान मानापाथी हिमालको फेदीमा मूलीखर्कको सरेभीरमा अन्दाजी ४ हजार २ सय मिटरमाथि क्षतविक्षत अवस्थामा फेला परेको हो ।

कान्तिपुर दैनिकको अनलाइनका अनुसार, थासाङ गाउँपालिका–३ लेतेका सुमित गौचनले सोमबार बिहान दुर्घटनाग्रस्त उक्त विमान फेला पारेका हुन् । गौचन अन्य स्थानीयसँगै दुर्घटनाग्रस्त विमान खोज्न निक्लेका थिए ।अन्य साथीहरु आइतबार राति नै फर्के पनि गौचन यार्सा खोज्न गएका इशान गुरुङसमेतको टोलीसँग बास बसेका थिए। उनै इशान गुरुङले आइतबार विमान आफूहरुकै टाउकोमाथि उडेको र ठोक्किएको आवाज सुनेको तर बाक्लो कुहिरोले नदेखेको भनी प्रहरी प्रशासन र पालिका अध्यक्ष, वडाध्यक्षलाई खबर गरेका थिए ।

सोही आधारमा खोजीलाई मानापाथी हिमालमुनि केन्द्रित गरिएको थासाङ गाउँपालिका–२ कोवाङका वडाध्यक्ष गौतम शेरचनले बताए। कोवाङबाट तीन घन्टा माथि मानापाथी हिमालको फेदीमा पर्ने पहाडमा विमान ठोक्किएर क्षतविक्षत अवस्थामा स्थानीयले फेला पारेका हुन् ।

पोखराबाट आइतबार बिहान ९ :५५ बजे उडेको विमान म्याग्दी खण्डमा पर्ने बफर जोन क्रस गरेपछि सम्पर्कविहीन भएको थियो । जोमसोम विमानस्थलमा बाक्लो बादल लागेकोले अवतरण गर्न नसकेपछि निलगिरी हिमाल मुनीको टिटी तालको आकाशबाट देब्रे मोडिएर मानापाथी हिमालपट्टी पुगेको र सोही पहाडमा ठोकिएको थियो।

यसैवीच, विमानमा सवार २२ मध्ये मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा तीन परिवारका १५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जनाको दुर्घटनामा मृत्यु भएको छ । मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले सामाजिक सञ्जालमार्फत सो नगरपालिकाको वडा नम्बर ११ स्थित लोटाका गोले परिवारका सात जनाको विमान दुर्घटनामा मृत्यु भएको जानकारी दिएका हुन्।

मेयर महतोका अनुसार दुर्घटनाग्रस्त विमानमा लोटाका राजन कुमार गोले, उहाँका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका थिए ।

उनीहरू मुक्तिनाथ दर्शनका लागि पोखराबाट विमानमा जोमसोम जाँदै गर्दा विमान दुर्घटना भएको हो ।

यस्तै, गोरखाको एकै परिवारका चार जनाको पनि दुर्घटनामा मृत्यु भएको छ। गणेशनारायण श्रेष्ठ, उहाँकी श्रीमती रश्मी श्रेष्ठ तथा दुई छोरी रविना श्रेष्ठ र रोजिना श्रेष्ठको ज्यान गएको छ ।

यस्तै, विमान दुर्घटनामा मृत्यु भएका भारतीय चार जना पनि एकै परिवारका रहेको थाहा बताइएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार विमान दुर्घटनामा मृत्यु भएका वैभवी बन्देकर, अशोक त्रिपाठी, धनुष त्रिपाठी र ऋतिका त्रिपाठी एकै परिवारका हुन् । वैभवी बन्देकर अशोककी श्रीमती हुन्। उनीहरूबीच सम्बन्ध विच्छेद भए पनि दुई सन्तान लिएर मुक्तिनाथ दर्शनका लागि आएका थिए ।

तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा सोमबार भेटिएको थियो ।

प्रकाशन मिति–२०७९ साल जेठ १६ गते सोमवार ।