नेपालगञ्ज । उद्योग–बाणिज्य क्षेत्रमा उज्ज्वल ताराको रुपमा यतिखेर अग्रपंक्तीमा तारा खत्री रोकायको नाम आउने गरेको छ। काठमाडौं वाहिर मोफसल नेपालगञ्जको प्रचण्ड गर्मीमा पनि नेपाली महिला दिदीबहिनीहरुलाई उद्यमी व्यवसायी वनाउन अत्यन्त क्रियाशील रोकायको मूलभूत रणनीति नै नेपाली महिला दिदीबहिनीहरुमा उद्यमशीलताको विकास गर्नु र गराउनु हो।

यस कार्यमा अत्यन्त दतचित्तका साथ लागिपरेकी रोकाय नेपालगञ्जमा नै रहेको लालिगुराँस गार्मेन्ट उद्योगकी अध्यक्ष पनि हुन। नेपालगञ्ज उद्योग वाणिज्य महासंघको उप–महासचिवको निर्णायक पदमा समेत पुगेर उल्लेखनिय कार्य गर्दैआएकी रोकाय यतिखेर नेपाली गार्मेन्ट उद्योगलाई उचाईमा पुर्याएर इतिहास रच्ने क्रममा रहेकी छन्।

त्यसमाथि, शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकाको अधिकार विषयमा पैरबी र वकालत गर्दैआएकी रोकाय महिला सशक्तिकरणको अगुवा पनि हुन। असहाय तथा कुनैपनि किसिमले आर्थिक अवस्था कमजोर भएर महिलाका लागि रोकायले प्रेम तथा योगदान मात्र नगरिकन आफ्नै परिवारलाई जस्तै मायामा उनेर जीवन जिउने कला सिकाएर आत्मनिर्भर वनाउने कार्यमा रोकाय अग्रपंक्तीमा रहेकी छन्।

यसका लागि गार्मेन्ट संवन्धी तालिम लगायतका स्वरोजगारमुखी विभिन्न तालिम दिएर उनीहरुवाट उत्पादित सामाग्रीको बजार व्यवस्थापन गर्ने र गराउने कार्यमा उल्लेखनीय योगदान दिने कार्य रोकायवाट भैरहेको छ। जसवाट महिला दिदीबहिनीहरुले गोजीभरी पैसा खेलाउन पाएका छन्। परिवार र बालबच्चाको पालन गर्न पनि मदत मिलेको धेरै दिदीबहिनीहरुको प्रतिक्रिया रहेको छ।

गुन्द्रुक, सिन्की, मस्यौरा जस्ता अर्गानिक नेपाली खानेकुराको व्यापक बजार रहेको अवस्थामा यी नेपाली अर्गानिक खानेकुरा वनाउने तालिम दिएर महिला दिदीबहिनीहरुलाई रोजगारी दिने कार्य पनि भैरहेको छ। यसको अलावा रोकायले पूर्णतारा फाउण्डेसन नामक सामाजिक संस्था स्थापना गरेर अनाथ, असहाय महिला, एकल महिला तथा अपाङ्गता भएकाहरुका लागि विशेष सहयोग गर्ने कार्य पनि गर्दैआएकी छन्।

यसै फाउण्डेसन मार्फत कोरोना कहरका कारण जारी लकडाउनमा विभिन्न सामाजिक सेवा गर्ने काममा पनि रोकाय अग्रपंक्तीमा देखिएकी छन्। कोरोनावाट बच्न र बचाउन ५० हजार वरावरका स्वास्थ्य सामाग्री वितरण गर्ने कार्य गरिसकेको वताउने रोकायले यो विपद अनि विषम परिस्थितिमा सेवा गर्नुको महत्व नै बेग्लै हुने स्वीकार्छिन्।


प्रकाशन मिति–२०७७ साल जेठ १६ गते शुक्रवार ।