काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहारको आज दोश्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा एकैदिनमा परेको छ। तिथि र पलाको घटवढको कारण आज दुवै तिहार एकैदिनमा परेको हो। दिउंसो ३ बजेसम्म कुकुर तिहार र त्यसपछि महामाया लक्ष्मीको आराधना गरेर पूजाआजा गर्ने कार्य हुने भएको छ। प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ।

यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ। कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो। यो जनावरले सुँघेर अपराधी पत्ता लगाउने गर्छ। कुकुरलाई भैरवको बहान पनि भनिन्छ। सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ।

यसैबीच तिथीको घटबढका कारण आजै देशैभर दीपावलीका साथ धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिँदैछ। बिहानैदेखि घर आगन सरसफाई तथा लिपपोत गरेका गृहणीहरुले उपवास बसी साँझ महालक्ष्मीको पूजा गर्ने गर्दछन्। मूलद्वारदेखि पूजाकोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ।

गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन्। लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पनि पूजा गर्ने चलन पनि छ। लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ। सुखरात्रीको रुपमा चिनिने आजराति जुन घर उज्यालोले झकिझकाउ छ सोही घरमा लक्ष्मी प्रवेश गर्ने मान्यता रहेको छ।
प्रकाशन मिति–२०७७ साल कात्तिक २९ गते शनिवार ।