काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहार सकेको लगतै देशभर चिसो महशुश भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको हो।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको खुलासा गरेका छन्। तापक्रम घटेका कारण चिसो महशुस भएको पौडेलको भनाई छ। पौडेलले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउनेहुँदा चिसो हुने गरेको उल्लेख गरेका छन्। तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने पौडेलले भनेका छन्।

वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारेका छन्। अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने बताए। डिसेम्बर महिनाको शुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने देखिएको छ।

डिसेम्बर महिनाबाट जाडो हुने तथा डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने पौडेलले भने। शीत लहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्ने पूर्वतयारी गर्न पनि पौडेलको सुझाव रहेको छ।

प्रकाशन मिति–२०७९ साल कात्तिक ११ गते शुक्रवार ।