काठमाडौं। तेस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन १ देखि ५ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेभएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ७९ चलचित्र प्रदर्शन हुनेछन्।

त्यस महोत्सवमा नेपालका महानायक राजेश हमालले आफ्नो फिल्मी अनुभव यात्रा सुनाउने भएको छ। उक्त कुराको खुलासा आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले गरेका छन्। प्रतिष्ठानका अध्यक्ष केपी पाठकले १० अन्तरराष्ट्रिय, ३५ लघु, पाँच नेपाली र १५ नेपाली लघु चलचित्र तथा आठ वृतचित्र र ६ एनिमेटेड गरी ७९ चलचित्र प्रदर्शन गरिने पनि बताएका छन्।

अध्यक्ष पाठकका अनुसार, ५५ देशबाट प्राप्त ६ सय चलचित्रबाट उत्कृष्ट छनिएका मात्र प्रदर्शन गरिने भएको छ। विगतमा कथानक चलचित्र मात्र प्रदर्शन गरिन्थ्यो भने, यो वर्ष एनिमेसन र वृत्तचित्र विधा पनि थप गरिएको छ। महोत्सवमा सबै विधाका उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिने पनि गरिने भएको छ।

अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत कथानक फिल्मलाई एक हजार पाँच सय अमेरिकी डलरसहित गौतमवुद्ध अवार्ड, सर्वोत्कृष्ट वृतचित्रलाई एक हजार डलरसहित माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई सात सय ५० डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई पाँच सय डलरसहित वाग्मती अवार्ड प्रदान गरिने छ।

फेस्टिभलमा प्रदर्शन हुनेमध्ये कथानक चलचित्रलाई बलिउड फिल्म निर्देशक प्रकाश झा नेतृत्वको निर्णायक मण्डलले मूल्याङ्कन गने छन् । यसमा अभिनेत्री गौरी मल्ल, बरिष्ठ क्यामेरामेन मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओपाओलो, र सिङ्गापुरका फिल्ममेकर युनि हाडी सदस्य रहने छन्।

वृत्तचित्र, लघु चलचित्र तथा ऐनिमेटेड चलचित्रमार्फतको जुरीको नेतृत्व श्रीलङ्कन फिल्ममेकर अनोमा राजाकरुणाले गनेछन्। उनलाई थिबाउट फ्रेक र करुण थापाले सघाउने छन् । नेपाली प्रतिस्पर्धाअन्तर्गत कथानक चलचित्रलाई रु.एक लाखको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई रु.४० हजारको पुरस्कार प्रदान गरिने छ। कथानक चलचित्रमार्फतका उत्कृष्ट निर्देशक, लेखक, छयाकार अभिनेता, र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ। महोत्सवमा फिल्म प्रर्दशनसँगै विभिन्न विषयमा छलफल पनि सञ्चालन हुनेछन्।
प्रकाशन मिति–२०७६ साल माघ ३ गते शुक्रवार ।