ललितपुर। नेपाल भाषामा पत्रकारिता शुभारम्भ भएको ९३ वर्ष पुगेको सन्दर्भमा आइतबार तेस्रो मातृभाषा पत्रकारिता दिवस मनाएको छ। नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समितिले ललितपुर शाखाको व्यवस्थापनमा विविध कार्यक्रम आयोजना गरी उक्त दिवस मनाएको हो।

नेपाल संवत् १०४५ अर्थात विसं १९८२ मा बुद्धजयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्यले (जगतमान वैद्य) बुद्ध धर्म र नेपाल भाषा नामक पत्रिका प्रकाशन गरेपछि नेपाल भाषाको पत्रकारिता शुरुआत भएको हो। उनको १ सय १३औं जन्मजयन्तीलाई मातृभाषा पत्रकारिता दिवसका रूपमा विगत ३ वर्ष अघिदेखि मनाउन थालिएको हो।

यही पत्रिका सम्भवतः गैरनेपाली भाषामा प्रकाशित पहिलो पत्रिका रहेको अहिलेसम्मको अध्ययनले प्रमाणित गरेकाले मातृभाषा पत्रकारिता दिवस मनाइएको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले बताएका छन्।

सो अवसरमा ललितपुरको पुल्चोकस्थित धर्मादित्य धर्माचार्य (जगतमान वैध) को सालिकमा माल्यार्पण गरिएको थियो। नेपालका बाङ्गमय शताव्दी पुरुष डा.सत्यमोहन जोशी लगायतका विशिष्ट व्यक्ति तथा व्यक्तित्वहरुले मातृभाषा दिवसको आवश्यकता र महत्वका बारेमा प्रकाश पारेका थिए।

प्रकाशन मिति–२०७५ साल बैशाख १७ गते सोमवार ।