काठमाडौ। तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरू एचआईभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिमता रहेको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म गरेको अनुसन्धानवाट उक्त कुराको खुलासा भएको हो।

केन्द्रले तराईका २२ जिल्लामा गरेको सर्वेक्षणमा पुरुष समलिंगी र तेस्रोलिंगीमा एचआईभीको व्यापकता दर आठ प्रतिशतभन्दा बढी देखिएको छ । केन्द्रले भारतमा काम गरेर फर्केका आप्रवासी पुरुष, उनीहरूका श्रीमती र महिला यौनकर्मी जस्ता जोखिम समूहबीच यो सर्वेक्षण गरेको थियो।

अध्ययनअनुसार अरू समूहभन्दा तेस्रोलिंगीमा यौनजन्य संक्रमण भिरिंगीको व्यापकता दर पनि २ प्रतिशतभन्दा बढी देखिएको छ । अरू समूहमा यस्तो संक्रमण भने एक प्रतिशत मात्रै छ।

यस्तो समहूमा कन्डमको प्रयोग, एचआईभीसम्बन्धी ज्ञान र परामर्श सेवा पनि कम देखिएको अध्ययनको निष्कर्ष छ। उनीहरूमा रोगको संक्रमण धेरै देखिनुका मुख्य कारण पनि यिनै हुन्। जोखिमका ३ समूहमध्ये तेस्रोलिंगीमा कन्डमको प्रयोग दर ५७ प्रतिशत छ भने महिला यौनकर्मीमा ६७ प्रतिशत देखिएको छ।

त्यस्तै, सुईद्वारा लागूपदार्थ प्रयोगका कारण पनि कतिपय एचआईभीको जोखिममा परेको अध्ययनमा देखिएको छ। केन्द्रले गत वर्ष गरेको अध्ययनमा लागूपदार्थकर्तामध्ये ३८ प्रतिशतमा हेपाटाइटिस सी देखिएको थियो । हेपाटाइटिस सी संक्रमित सबैमा एचआईभीको जोखिम उच्च हुन्छ।


प्रकाशन मिति–२०७५ साल साउन ६ गते आइतवार ।