काठमाडौ। स्तनपान अमृतसमान । स्तनपानले, नवजात शिशुलाई ६ महिनासम्म आवश्यक सबै पोषण उपलब्ध हुन्छ । त्यसैले जन्मेको १ घण्टाभित्र स्तनपान शुरु गरी ६ महिनासम्म स्तनपानमात्र गराएको छ भने शिशु स्वस्थ र निरोगी हुन्छ। शिशुको शारीरिक र मानसिक विकास राम्रो हुन्छ । स्तनपान गरेको शिशु बौद्धिक रुपले पनि धेरै चलाख र तेजिलो हुन्छ।

नियमित स्तनपान गरेको शिशुलाई भविष्यमा उच्च रक्तचाप, क्यान्सर, मधुमेहजस्ता रोग लाग्ने सम्भावना पनि कम हुन्छ । अर्काैतर्फ स्तनपान गराउने आमा पनि उत्तिकै स्वस्थ र निरोगी हुन्छन् । गर्भावस्थामा वृद्धि भएको तौल स्तनपान गराएमा घट्छ जसले गर्दा आमा र बच्चा दुवै स्वस्थ र सुन्दर हुन्छन् । जन्मेको एक घण्टा अर्थात सकेसम्म छिटो स्तनपान गराएमा पाठेघरबाट सालनाल छिटो बाहिर आउने र पाठेघर छिटो खुम्चिने हुन्छ ।

र, रक्तश्राव हुनबाट पनि जोगाउँछ । यस्तै स्तनपान गराउने आमालाई भविष्यमा मधुमेह, उच्चरक्तचाप र स्तन क्यान्सर जस्ता गम्भीर प्रकृतिका रोग लाग्ने सम्भावना न्यून हुन्छ । यसर्थ स्तनपान अत्यन्तै महत्वपूर्ण छ । नेपालमा परम्परादेखिनै स्तनपान गराउने प्रचलन रहेको पाइन्छ । करिब ९८ प्रतिशत आमाले स्तनपान गराउने गरेको भएपनि पछिल्लो समय स्तनपान गराउने प्रचलनमा कमी आएको छ ।

विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार नवजात शिशुलाई स्तनपान गराउने प्रमुख तीन सुचक छन् । पहिलो, शिशु जन्मेको एक घण्टा भित्र स्तनपान गराउनु पर्छ । दोश्रो, शिशु जन्मेदेखि छ महिनाको नहुदाँसम्म उसलाई केबल आमाको दूधमात्र ख्वाउनुपर्छ र तेश्रो, शिशु छ महिनाको हुँदादेखि दुई वर्षको हुँदासम्म अन्य खानाको साथमा आमाको दूध पनि ख्वाउनु अनिवार्य हुन्छ । तर नेपालमा दैनिक रुपमा जन्मने नवजात शिशुलाई नियमित स्तनपान गराएको पाइदैन ।

एक तथ्यांक अनुसार प्रति एकहजार शिशुमा ३३ जना शिशुको जन्मेको २८ दिनभित्र मृत्यु हुन्छ भने ४६ जनाले आफ्नो पहिलो जन्मदिन मनाउन पाउँदैनन् । त्यस्तै ५४ जनाले आफ्नो पाँचौ जन्मदिन अगावै मृत्युवरण गर्नु परेको छ। यसैगरी नेपालमा ६ महिनादेखि ५९ महिनाको कूल बालबालिको ४६ प्रतिशतमा रक्तअल्पता छ भने ५ वर्षमुनीको कूल बालबालिकाको २९ प्रतिशतको कम तौल भएको पाइएको छ। नेपालमा नवजात शिशु तथा बालमृत्युको कारणहरुमा कुपोषण, झाडापखाला, निमोनिया, संक्रमण, कम तौलको बच्चा जन्मनु मुख्य छन्।

यसरी शिशु तथा बाल मृत्युदरबाट जोगाउने उपायहरु मध्ये स्तनपान महत्वपूर्ण उपाय हो । यदि शिशुलाई ६ महिनासम्म स्तनपान मात्र गराएमा, शिशु ६ महिना भएपछि उपयुक्त थप आहारको साथै २ वर्षसम्म स्तनपान पनि गराएमा नवजात शिशु तथा बाल मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिन्छ। त्यसैले नेपालमा जनचेतना जगाउन हरेक वर्ष अगस्त महिनामा स्तनपान दिवस मनाउने गरिन्छ। यो वर्ष स्तनपान ः जीवनको आधार भन्ने नारा सहित विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइयो । शिशु जन्मेपछि पहिला आउने पहेँलो बाक्लो दूध (बिगौती दूध) सँग शिशुलाई रोगसँग लड्ने तत्वहरु हुन्छ ।

यो नै शिशुको पहिलो खोपको रुपमा लिइन्छ । जन्मने बित्तिकै अन्य कुनैपनि खानेकुरा नखुवाई शिशुलाई १ घण्टा भित्र बिगौती दूधसहित स्तनपान गराएमा मात्र १९ देखि २२ प्रतिशत नवजात शिशुको मृत्युदर घटाउन सकिन्छ भन्ने तथ्य विश्वमा भएका विभिन्न अनुसन्धानहरुले देखाइसकेको छ । तर नेपालमा यसरी एक घण्टाभित्र स्तनपान गराउनेको संख्या जम्मा ६६.४ प्रतिशत मात्र छ ।

त्यसैगरी ६ महिनासम्म स्तनपान मात्र गराउने आमाहरुको संख्या करिव ७० प्रतिशत छ भने स्तनपान गराउने सरदर समय अवधी ४ महिनाको हाराहारीमा छ। स्तनपान आमाले गराउने भएपनि सफल स्तनपानको लागि परिवार, समाज र राज्यको सहयोग र दायित्व अपरिहार्य छ।

यसको लागि स्तनपान सम्बन्धि नीति नियमको तर्जुमा र कार्यान्वयन उत्तिकै जरुरी छ । आमालाई स्तनपान गराउने वातावरणको सिर्जना गर्नुपर्दछ । यसो भएमा मात्र सहिरुपमा सफल स्तनपान हुनसक्छ । सफल स्तनपानबाट स्वस्थ र निरोगी भएका शिशु भोलि गएर स्वस्थ बालक, यूवा हुँदै स्वस्थ आमा र बाबुमा परिणत हुन्छन् । त्यसपछि मात्र स्वस्थ समाजको निर्माणमा टेवा पुग्छ।
यसै विषयमा निशान बुढाथोकीले दमौली अस्पतालकी स्त्री रोग विशेषज्ञ डाक्टर आस्था रेग्मीसंग गरिएको कुराकानी ।


 हरेक आमाले बच्चालाई स्तनपान गराउन किन आवश्यक छ ?
– भगवानले दिएको बच्चाको लागि प्रोटेक्सनको लागि प्राकृतिक माध्यम हो स्तनपान । यसका धेरै फाइदाहरु छन् । शुरुमा संसारमा जन्मेर आउने बित्तिकै पाउने खाना भनेकै स्तनपान हो । यसमा सम्पूर्ण भिटानिसहरु, मिनरल्स, बच्चालाई संक्रमण हुनबाट जोगाउने तत्व जस्ता सम्पूर्ण आहारहरु यसमै पाउँछ । बच्चा जन्माइसकेपछि आमाको जीउबाट दूध उत्पादन हुने हुनाले के धनी के गरिब सबैले विना खर्च बच्चालाई खुवाउन सक्छन् । यो एउटा वरदान पनि हो । आमा र बच्चामा आत्मियता बढाउँछ ।

स्तनपान नगराएमा कस्तो असर गर्छ बच्चालाई ?
–बच्चा जन्मिसकेपछि पहिलो ६ महिनामा बच्चाको ग्रोथ स्पिडमा हुन्छ । बच्चाले पचाउन सक्ने, खान सक्ने भनेको आमाको दूध नै हो । स्तनपान नगराएमा पहिलो कुरा त बच्चाको ग्रोथमा नै असर गर्छ । ग्रोथ पनि शारिरीक र मानसिक गरी विभिन्न किसिमका हुन्छन् । ग्रोथसंगै संक्रमणको जोखिम पनि बढ्ने हुन्छ । सबै कुराको विकास स्तनपान मै हुन्छ । यही स्तनपान नगराउँदा विभिन्न किसिमका समस्याहरु देखा पर्छन् । फेरि यो समस्या अहिले मात्र होइन पछि वयस्क हुँदा पनि देखा पर्छन् । जस्तै कसैलाई प्रेसर, कसैलाई सुगर देखा पर्न सक्ने हुन्छ । दिर्घकालिन समस्याहरु देखा पर्न सक्छन् ।

 कतिपय महिलाहरु आफ्नो शारिरीक बनावट बिग्रिन्छ भन्ने डरले बच्चालाई स्तनपान नगाइएको देखिन्छ, के साँच्चिकै हो त ?
–एकदम गलत कुरा हो । पहिलो कुरा आमाको लागि फाइदा भनेकै गर्भवती अवस्थामा अत्याधिक तौल बढेको हुन्छ । तौल घट्न सहयोग गर्ने उत्तम उपाय नै स्तनपान हो । भनेको समयमा तौल घटाउनलाई पहिलो ६ महिनामा जुन मेजर तौल घट्न, स्तनपान गराएको महिलामा बढी घटेको तथ्यांक छ । यो कुराबाटै स्पष्ट हुन्छ कि– स्तनपानबाट शारिरीक बनावट फिट राख्छ । अझ धेरै निखारता ल्याउँछ । बच्चा जन्मेको ६ महिना सम्म स्तनपान मात्र गराउनुपर्छ । त्यसपछि १ वर्षसम्म खुवाउने र बच्चाको अवस्था हेरेर दुध बाहेक अरु खानेकुरा पनि खाइरहेको छ भने त्यही अनुसार स्तनपान गराउनुपर्छ ।

 स्तनपान गराउँदा के के कुरामा ध्यान दिनुपर्छ ?
–पहिलो कुरा त सरसफाइ मै ध्यान दिनुपर्छ । स्तन नियमित रुपमा सफा गर्नु पर्छ । स्तनपान गराउनु अघि र स्तनपान गराइसकेपछि राम्रो संग सफा गर्नु पर्छ । सरसफाइमा ध्यान दिइएन भने झन् संक्रमण बढ्न सक्छ । साथै बच्चाले दूध खाएको मिलेको छ कि छैन राम्रो संग हेर्नु पर्छ । भन्नुको मतलब के हो भने स्तनपान गराउने तरिकामा स्कीन टु स्कीन कन्ट्याक भनिन्छ । सकिन्छ भने आमा र बच्चा दुवैको वस्त्र खोलेर आमा पनि र बच्चा पनि सजिलो संग बसेर दुध खुवाउनुपर्छ । निप्पल मात्र होइन दुधको कालो पूरै भाग बच्चाको मुखमा पस्न जरुरी छ । बच्चाको तल्लो ओठ फर्काएर सजिलो पोजिसनमा जनु पट्टीको दूध खुवाउने हो त्यो पट्टीको हातले टाउको समाउने र अर्को हातले प्रेस गरेको जस्तो गरी दूध खुवाउनु पर्छ ।

बच्चालाई कति कति समयमा स्तनपान गराउनु पर्छ ?
–सामान्यतया रातको समयमा सम्भव नभए पनि दिनमा प्रत्येक ४ घण्टामा १०–१० मिनेट स्तनपान गराउनुपर्छ । कम्तिमा १० मिनेट स्तनपान गराउनै पर्छ । किनभने कतिपयलाई यो थाह नहुन सक्छ कि पहिलो आधा भागमा पानी पानी र अर्को आधा भागमा फ्याट मिसिएको दूध आउँछ । यदि फस्ट हाफ मात्र स्तनपान गराइयो भने बच्चाले पाउनुपर्ने सम्पूर्ण पोषण नपाउन सक्छ ।

 अंग्रेजी महिनाको १ तारिख देखि ७ तारिख सम्म विश्व स्तनपान दिवस मनाइने गरिन्छ, यो दिवसको महत्व कतिको छ त ?
–यो दिवसको महत्व भनेको सबैलाई चेतना होस् भन्ने नै प्रमुख कारण हो । कतिपय दिवस एक दिन मात्र मनाइन्छ भने यो दिवस एक हप्ता सम्म मनाइने गरिन्छ । सत्प्रतिशत आमाले बच्चालाई दूध खुवाउन जरुरी छ । सन् २०२५ सम्म कम्तिमा ५० प्रतिशत आमाहरुले स्तनपान गराउन सकुन् भन्ने उद्धेश्य हो । स्तनपान आफैमा महत्वपूर्ण छ । एउटा बच्चा हेल्दी भएन भने पछि वयस्क अवस्थामा परिवारलाई मात्र होइन समाज, राष्ट्र अनि विश्वमा नै असर गर्छ । त्यसकारण स्तनपान अमृतसमान हो।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल साउन २५ गते सोमवार ।