काठमाडौं। थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ। थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै भर्त्सना गरेपछि थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको हो।

राजदरबारबाट एक वक्तव्य सार्वजनिक गर्दै थाई राजाले आफ्नी दिदीले उम्मेदवारी दिए त्यो देशको संस्कृतिविरुद्ध हुने बताएका थिए। थाई रक्षा पार्टीले राजपरिवारको निर्देशनलाई मान्ने बताउँदै राजकुमारीलाई चुनावमा उठाउने निर्णयबाट पछि हटेको जानकारी दिएको छ।

६७ वर्षीया राजकुमारी उबोलरत्ना माहीदोललाई पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको सहयोगी पार्टीले उम्मेदवार बनाउने तयारी गरेको थियो। थाइल्याण्डको शाही परिवार राजनीतिबाट अलग रहने परम्परा रहँदै आएको छ।
(समाचार एजेन्सीको सहयोगमा)।
प्रकाशन मिति–२०७५ साल माघ २७ गते आइतवार ।