काठमाडौं। थाइल्याण्डकी राजकुमारीले प्रधानमन्त्रीको आमचुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। थाइल्याण्डमा यही आउने मार्च महिनामा हुन गैरहेको प्रधानमन्त्रीको आमचुनावमा थाइल्याण्डकी राजकुमारी उबोलरतनाले उम्मेदवारी दिने घोषणा गरेको हो।

अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार, थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो। थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नकी ठूली दिदी ६७ वर्षीया राजकुमारी उबोलरतनाले थाई रक्षा चार्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएको घोषणा गरेकी हुन् ।

थाई राजतन्त्रलाई परम्परागतरुपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रुपमा हेर्ने गरिन्छ। थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्र विरुद्ध आलोचना गर्न पनि पाइन्न । राजतन्त्रले मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भएका बखत हस्तक्षेप गर्ने गरेको छ।

उबोलरतनाको उम्मेदवारीले मार्च २४ तारिखको चुनावमा नयाँ तरङ्ग नै ल्याइदिएको छ। खासगरी, पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी दिएको बताइन्छ।
प्रकाशन मिति–२०७५ साल माघ २५ गते शुक्रवार