काठमाडौं। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब सोही अस्पतालबाट पीसीआर परिक्षणको सेवा प्राप्त गर्ने भएका छन्। कोरोनाभाइरस (कोभिड–१९) परिक्षणका लागि अत्यावश्यक पीसीआर ल्याबको मंगलवार उद्घाटन भएसँगै उनीहरुले यस्तो सेवा प्राप्त गर्ने भएका हुन् ।

उक्त अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ल्याबको संयुक्त रुपमा उद्घाटन गरेका छन्।

काठमाडौँ महानगरपालिकाले गत साउन ४ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई पीसीआर मेसिनसहित कोभिड–१९ का लागि अत्यावश्यक केही स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो। उक्त अस्पताललाई हस्तान्तरण गरिएको सो मेसिन काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले अनुदान स्वरुप दिएको थियो । सोही मेसिनसहित पीसीआर ल्याबको मन्त्री ढकाल र मेयर शाक्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन।

काठमाडौँ महानगरपालिकाले नेपाली सेनासंगको सहकार्यमा बीरेन्द्र अस्पताल छाउनीबाट मृगौला रोगीको हेमोडाईलासिस सेवा सुरु गरिसकेको छ। महानगरपालिकाकै आर्थिक सहयोगमा नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरी कोभिड–१९ लाई लक्षित गरी प्राथमिक र आकस्मिक सेवासहितको सेवा प्रदान गरिरहेको जानकारी मेयर शाक्यले दिएका छन्।

महानगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्न गंगालाल हृदय रोग केन्द्रसँग सम्झौता गरिसकेको छ भने कान्तिवाल अस्पतालसँग पनि सम्झौता गरेको वताउंदै मेयर शाक्यले आगामी दिनमा थप समन्वय गरेर स्वास्थ्यका क्षेत्रमा हातेमालो गर्दै अघि बढ्न चाहेको बताएका छन्।
प्रकाशन मिति–२०७७ साल साउन २७ गते मंगलवार ।