काठमाडौ। विशेषत नेपालमा पनि एक प्रकारको थाल डान्स कलामा आकर्षण बृद्धि भएको छ। हातमा थाल राखेर ओल्टाई–पल्टाई भूँईमा नखसाइकन मज्जाले डान्स गर्ने बेग्लै कला नै थाल डान्स हो।

यो डान्स गर्न धेरै अभ्यास तथा मेहनत आवश्यक पर्दछ। कठिन डान्स मध्येको एक डान्स थाल डान्स हो। डान्स गर्दा–गर्दै हातवाट चिप्लिएर थाल खसेमा यस डान्सको अर्थ हुंदैन। एक किसिमको जादूकला जस्तो थाल डान्स हो। जुन थाललाई हातमा कही–कतै टांसिएको हुंदैन।

गुरुत्वाकर्षणको सिद्धान्त अनुसार थाललाई हातमा लिएर थाललाई नखसाइकन नाचिने यो थाल डान्स गर्ने बेजोड डान्सर मध्येका नेपालका एक डान्सरमा सिमरन शाही पनि हुन। थाल डान्सका माहिर डान्सर सिमरन शाहीले थाल डान्स गर्दा हेर्ने दर्शकहरु तीन छक्कै पर्ने गरेका छन्।

पूर्वी नेपालको इलाममा थाल डान्स प्रस्तुत गर्दैगर्दा कतिले नपत्याएर सिमरनको हात चेक गर्न आउनेहरु पनि रहेको थियो। हातमा कतै पारदर्शी डोरीले थाललाई बाँधिएको छ या अरु कुनै तकनिकी अपनाएको हो कि भनेर चेक गर्न खोज्नेहरुलाई नांगो हात र खुल्ला थाल देखाउदा सवै चकित बनेका थिए।

सिमरन यो डान्स एक प्रकारको कठिन डान्स कला भएको र थाल तथा हातको व्यालेन्सलाई मिलाउन सकेमा सहज रुपमा गर्न सकिने खुलासा गर्छिन्। सवैले हम्मेसी गर्न नसक्ने ठहर पनि सिमरनको रहेको छ। विगत २० बर्षदेखि निरन्तर आधुनिक, चर्या, कत्थक लगायतका सवैखाले डान्स गर्नमा पोख्त बन्दै यसलाई नै जीवन यापनको माध्यम बनाउंदै आएकी सिमरनको डान्स गुरु आफ्नै दाजु–भाउजु शंभु शाही र सिर्जना श्रेष्ठ हुन्।

कत्थक डान्स भने हनी श्रेष्ठ तथा मनोज जोशीसंग सिकेको बताएकी छन्। नेपालका नाम चलेका पाठशाला नेपाल, स्वर्णिम स्कुल लगायतका स्कुलमा डान्स टिचर बनेर कार्य गरेर यसलाई पेशा नै बनाएर अगाडि बढिरहेकी सिमरनले २० बर्षको डान्स करियरमा स्वदेश तथा विदेशका स्टेजहरुमा नेपाली लोक तथा आधुनिक डान्स गरेर व्यापक चर्चा बटुलिसकेकी छन्।

एभरेष्ट कल्चर ग्रुप मार्फत जापान, पोल्याण्ड, फिनल्याण्ड, टाइवान, स्पेन, फ्रान्स, स्वीट्जरल्याण्ड लगायतका देशमा अभूतपूर्व डान्स प्रस्तुत गर्दा उनको हरेक स्थानमा ठूल–ठूला पोस्टर तथा पम्पलेट टांसेर सम्मान गरिएको त्यो क्षण तथा पल उनले जिन्दगीकै अविस्मरणीय क्षण भएको भनेकी छन्।

शुरुवातीको बेलामा उनलाई विभिन्न कार्यक्रममार्फत मौका तथा अवसर दिने साधना कला केन्द्र,नासः कल्चर एकेडेमी, सत्यवती कला केन्द्र, सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) लगायतका संघ–संस्थाहरुलाई आफूले कदापि विर्सन नमिल्ने बताएकी छन्। भारतको इलाहावाद विश्वविद्यालयको प्रयाग संगीत समितिवाट कत्थक नृत्यको पाँचौ बर्षको अध्ययनमा लिएको परीक्षामा फस्ट डिभिजनमा उत्तिर्ण बनेकी उनी एभरेष्ट नेपाल कल्चर ग्रुपका ख्यातिप्राप्त कलाकार समेत हुन्।

डान्सलाई जिन्दगीको अभिन्न माध्यम नै भएको बताउने उनी डान्समा नै जिन्दगी देखेको भन्छिन्। बाँचुञ्जेल डान्स गरेरै दुईदिने जिन्दगी विताउने उनको सोच तथा योजना रहेको छ।

प्रकाशन मिति–२०७४ साल माघ २२ गते सोमवार ।