काठमाडौं। नेपालभाषामा प्रकाशित हुंदैआएको थौंकन्हये मासिकको ६९ औं बार्षिक उत्सवमा दुई पुरस्कार र विशेष सम्मानहरु प्रदान गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा दुई पुरस्कार रेवतिरमणान्द लुमन्ति सिरपा र प्रयागमान लुमन्ति सिरपा तथा विशेष सम्मानहरु प्रदान गरियो।

मेयर शाक्यले प्रयागमान लुमन्ति सिरपा नेपालभाषाका समालोचक पूर्ण ताम्राकार र रेवतिरमणान्द लुमन्ति सिरपा नेपालभाषाका कवि पुष्परत्न तुलाधरलाई प्रदान गरेका छन्। दुवै पुरस्कारको राशी जनही नगद १० हजार रहेको छ।

त्यसैगरेर, मेयर शाक्यले नेपालभाषा क्षेत्रमा विशेष योगदान दिने लहना साप्ताहिकका व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठलाई विशेष सम्मान प्रदान गरे। त्यसैगरेर, थौकन्हेयका संरक्षक दीपंकरमुनि ताम्राकार र मोतिलाल शिल्पकारलाई पनि विशेष सम्मान दिइएको थियो।

सोही समारोहमा मेयर शाक्यले थौकन्हेय मासिकका सम्पादक तथा प्रकाशक रुक्मिणी श्रेष्ठव्दारा लिखित नसात्वँसा वासः नं खः नामक पुस्तकको पनि सार्वजनिक गरेका थिए। नेपालभाषा क्षेत्रमा धेरै स्रष्टाहरुको अमूल्य योगदान रहेको बताउंदै मेयर शाक्यले ती स्रष्टाहरुको हामीले सदा सम्मान गर्नुपर्ने कुरामा जोड दिएका थिए।
तस्बीर सौजन्य–नृपेन्द्रलाल श्रेष्ठ / लहना
प्रकाशन मिति–२०७६ साल जेठ ११ गते शनिवार ।