jhola 1काठमाडौ। दक्षिण एसियाकै उत्कृष्ट चलचित्र मध्येको एक मानिएको नेपालको मौलिक चलचित्र झोलाको पाइरेसी भएको छ। चलचित्र झोलालाई गैरकानूनी रुपमा चलचित्रको प्रतिलिपि विक्री–वितरण गरेर इन्टरनेटमा हालिएको दावी चलचित्र झोलाका निर्माता तथा निर्देशक यादवकुमार भट्टराईको रहेको छ।

विगत केही दिनदेखि चलचित्र झोला युट्युबमा ५० औ पटक अपलोड गरिएको पनि भट्टराईले भनेका छन्। नेपालका विभिन्न भागमा महंगो मूल्य लिएर पेनड्राइभमा १ हजार ५ सय देखि २ हजार रुपैयामा समेत बेचिएको सूचना आएको पनि उनको भनाई रहेको छ। गैरकानूनी रुपमा अरुले निर्माण गरेको चलचित्र पाइरेसी गरेर विक्रीवितरण गर्नुभनेको कानून अनुसार अपराध हो।

यस अपराधमा संलग्न भएको आरोपमा काठमाडौ कालिकास्थान स्थित माउण्ट रिभर फिल्मसका चन्द्रकान्तलाई कारवाहीको दायरामा ल्याइएको प्रहरीले भनेको छ। प्रहरीका अनुसार माउण्ट रिभर फिल्मसको अफिसवाट अनुसन्धानको लागि कम्प्युटर, सीपीओ लगायतका सामाग्री महानगरीय प्रहरी कार्यालयमा लगिएको छ।

चलचित्र झोलाको विदेशमा प्रदर्शनको लागि वितरण अधिकार दिएको माउण्ट रिभर फिल्मसले गरेको यस अपराधलाई किटानीकासाथ प्रहरीमा जाहेरी दिने कार्य चलचित्र झोला निर्माण युनिटबाट भएपछि उक्त फिल्मसलाई अनुसन्धानको दायरामा लगिएको हो। चलचित्र झोला निर्माण युनिटले चलचित्र पाइरेसी गर्ने उक्त फिल्मस्लाई ५ करोड बराबरको क्षतिपूर्तिको दावी गरिएको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर १४ गते सोमवार ।