काठमाडौं। दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण आज आइतवारबाट भव्य रुपमा शुभारम्भ हुने भएको छ। आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भव्य र रंगिन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको उदघाटन गर्ने कार्यक्रम रहेको छ।

झण्डै साँढे तिन घण्टासम्म चल्ने उद्घाटन समारोहमा नेपालको हिमाल, पहाड, तराइलगायत दक्षिण एशियाकै संस्कृति र पहिचान झल्किने झाँकीहरु प्रस्तुत गरिने भएको छ। उदघाटन समारोहमा ७ हजारभन्दा बढी कलाकारहरु सहभागिता जनाउंदैछन्। जसमा विश्वविख्यात नेपाली गायक दीपक बज्राचार्यको विशेष प्रस्तुति हुने भएको छ।

गायक बज्राचार्यको मनमगन बोलको अत्यन्त लोकप्रिय गीत गाएर नेपाल र नेपालीको कला तथा संस्कृतिलाई रंगशालामा प्रस्तुत गरिने विशेष कार्यक्रम रहेको जानकारी रशलाइट मिडियाकी अध्यक्ष रमिता भण्डारीले भिजन संसार डटकमलाई दिएकी छन्।

विसं.२०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रंगशाला चार वर्ष लगाएर पुर्ननिर्माण गरिएपछि आज आइतवार पहिलो पटक औपचारिक समारोह आयोजना गर्न तयार भएको छ। दक्षिण एसियाली खेलकुदका चार पटकका स्वर्ण पदक विजेता तथा ओलम्पियन दिपक विष्टले ओलम्पिक टर्च बाल्नेछन्।

यसैगरी सागका स्वर्णपदकधारी भारत्तोलन खेलाडी कमल बहादुर अधिकारीले मार्च पासमा नेपालको झण्डा बोक्नेछन् भने खेलाडीहरुको तर्फबाट तेक्वान्दो खेलाडी आयसा शाक्यले शपथ लिनेछिन् । १० दिनसम्म चल्ने १३ औं सागमा ७ देशका झण्डै ३ हजार खेलाडी सहभागि हुँदैछन् ।

सागमा समावेश गरिएको २६ खेलमा तीन सय १७ स्वर्ण, तीन सय १७ रजत र चार सय ८१ कास्य गरी एक हजार एक सय १५ पदकका लागि भिडन्त हुँदैछ। थ्री बाई थ्री बास्केटबल र बिच भलिबल अनअफिसियल खेल हुन् । १३ औं सागअन्तर्गत काठमाडौंमा १९, पोखरामा ८ र जनकपुरमा एउटा खेल हुनेछ। नेपालले दक्षिण एसियाली खेलकुद आयोजना गरेको यो तेस्रो पटक हो।

यसअघि सन् १९८४ मा काठमाडौंमा पहिलो साग आयोजना गरिएको थियो भने १९९९ मा दोस्रो पटक नेपालले आठौं साग आयोजना गरेको थियो। २० वर्षपछि नेपालले फेरी दक्षिण एसियाली खेलकुदको यो महाकुम्भ आयोजना गर्न लागेको हो।
प्रकाशन मिति–२०७६ साल मंसीर १५ गते आइतवार ।