ललितपुर। नेपालभाषाका चर्चित पत्रकार दर्शनवीर शाक्यव्दारा सम्पादित कामशास्त्रको प्राचिन पुस्तक नागरसर्वस्व सार्वजनिक भएको छ। ३ नंबर प्रदेशका चर्चित सांसद डा.अजयक्रान्ति शाक्यका साथमा उपप्राध्यापक बज्रमुनि बज्राचार्य र भाषा आन्दोलनका प्रणेता नरेशवीर शाक्यले एकसाथ विमोचन गरेपछि सार्वजनिक भएको हो।

कामशास्त्रको ज्यलन्त प्राचिन पुस्तक भएको कारण यतिखेर अत्यन्त चर्चामा रहेको यो किताव आफैमा खुल्दुली हो। जुन खुल्दुलीभित्र अनेक सवाल रहेको छ। र तिनको सटिक जवाफ तथा समाधान रहेको छ। लुकेको समाजभित्रको क्रान्तिकारी दस्तावेजको रुपमा यो पुस्तक आएको छ। जुन ग्रन्थ अर्थात पुस्तक भक्तपुरका राजा जगज्योति मल्लले (नेसं ७२६–७५६) नेसं ७५० मा पाटनका राजा सिद्धिनरसिंह मल्ललाई (नेसं ७३९–७७८) उपहार दिएका थिए। त्यही ग्रन्थ नै नागरसर्वस्व हो भन्ने लेखक दर्शनवीर शाक्यको जिकिर रहेको छ।

Mr.Darshan Bir Shakya

लेखक शाक्यका अनुसार, जगज्योति मल्लले संस्कृत ग्रन्थ नागरसर्वस्वको नेपालभाषामा टिका लेखेका थिए। जगज्योति मल्लका पालामा लेखिएका नागरसर्वस्वका मात्रै थुप्रै लिपियान्तर गरिएका ग्रन्थहरु राष्ट्रिय अभिलेखालयमा सुरक्षित छन्। नागरसर्वस्व ग्रन्थका लेखक पद्मश्री हुन। उनी आठौं शताव्दी देखि १४औं शताव्दीका बौद्ध पण्डित भनेर सिग्मण्ड लीनहार्डले भनेका छन । तर, डा. अमल साहिब पाठकले सन् २०१४मा प्रकाशित उनको पुस्तक नागरसर्वस्वमा भने पद्मश्री ११औं शताव्दीका भनेका छन्।

पद्मश्री बौद्ध विद्वानका साथै बौद्ध भिक्षु वा बज्राचार्य हुनुपर्ने सिग्मण्ड लीनहार्डका भनाइ रहेको छ । यस ग्रन्थमा धेरै कुराहरु बौद्ध धर्मसंगको सम्बन्धलाई इंगित गरिएको छ। जस्तै प्रथम अध्याय्मा नै मंगलाचरणमा बौद्धहरुका देव मंजुश्रीलाई कामदेवका रुपमा स्तुति गरिएको छ, पुत्र प्राप्तिका निम्ति ताराको पूजा र मन्त्र पाठ एवं भिक्षुहरुलाई भोजन दान गर्नु पर्ने प्रसंगहरु रहेका छन् । तर, पद्मश्री बौद्ध धर्म अनुयायी देखिएतापनि यस ग्रन्थका धेरै कुराहरु बुद्धधर्मको मूलभूत सिद्धान्त बिपरित रहेको छ।

यस ग्रन्थमा स्त्रीको कामवासना पूरा गर्नु नै लोकोपकार भनिएको छ। जबकी बुद्ध धर्ममा कामवासना एक त्याग्य वस्तुको रुपमा राखिएको छ। बुद्ध धर्ममा पञ्चशीलको प्रार्थनामा व्यभिचार गर्नु हुन्न भन्ने शील रहेको छ। यस ग्रन्थमा अरुलाई वशमा पार्ने मोहनी लगाउने, कस्ता कस्ता स्त्रीलाई वशमा राख्न सकिने, कस्तालाई नसकिन,े स्त्रीलाई कसरी फकाउने इत्यादी कुराहरु सिकाइएको छ।
यस विषयमा सन् १९२९ मा प्रकाशित नागरसर्वस्वका अनुवादक राजधर झाले उनी बौद्ध भिक्षु भएका कारण लोकउपकारका निम्ति लेखेका हुन्। र सबै कुराहरु तत्कालीन लोकहितमा रहेको कुरा राखेका छन।

नागरसर्वस्व ग्रन्थका बारेमा भन्नु पर्दा यस ग्रन्थमा नगरमा बस्ने व्यक्तिसंग कस्तो शीप हुनु पर्दछ भनि लेखिएको ग्रन्थ हो। स्वयंम पद्मश्रीद्वारा यस ग्रन्थमा विभिन्न ग्रन्थहरुका मूल सारहरु समुन्द्रमा मोति चुने झैं ज्ञानका कुराहरु चुनेर राखेको भनेका छन्। अरु कामशास्त्र भन्दा धेरै फरक र फराकिलो ज्ञानको दायरा अन्तर्गत यसमा ग्रहदशा शान्त गर्न रत्न धारणा, स्त्री र पुरुष बिचको गोप्य संवाद, औषधीशास्त्र, गन्धको महत्व आदी इत्यादी बिषयहरु पनि समावेश छन।

११औं शताव्दीको ग्रन्थ तथा १७औं शताव्दीमा नेपालभाषाबाट टिका लेखिएको यस ग्रन्थलाई पत्रकार दर्शनवीर शाक्यद्वारा हालको प्रचलित नेपालभाषामा नागरसर्वस्व नामबाटै प्रकाशनमा ल्याएका हुन्। नेपालभाषा स्नात्तकोतरको पाठ्यक्रम अभिलेख विज्ञान अन्तर्गत १७ औं शताव्दीको सो ग्रन्थलाई पत्रकार शाक्यले आफ्नो बिषय बनाएका थिए। गहन अध्ययन तथा अनुसन्धानवाट रिराइटिङ गरेर त्रिभुवन विश्वविद्यालय, नेपालभाषा केन्द्रीय बिभागको अनुमतिमा यस पुस्तकलाई पत्रकार शाक्यले प्रकाशन गरेका हुन्।
प्रकाशन मिति–२०७६ साल जेठ १४ गते मंगलवार ।