काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ ट्रेलर सार्वजनिक भएको छ । आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो।

सार्वजनिक ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरले समसामयिक राजनीतिको प्रवृत्तिलाई समेटेको छ । पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी (राजा) लाई खराब स्वभाव र शैलीको नेताको रुपमा चित्रण गरिएको छ ।

चलचित्रमा अभिनेत्री बेनिशा हमाल पत्रकारको भूमिकामा प्रस्तुत छिन् । ट्रेलरमा पत्रकार र नेताबीचको सम्बन्धलाई पनि कटाक्ष गरिएको छ । दीपाश्री निरौलालाई दीपकराज अर्थात् राजाकी पत्नीको भूमिकामा प्रस्तुत गरिएको छ ।

चलचित्रमा दीपक, दीपा र बेनिशाको अलाव केदारप्रसाद घिमिरे, बुद्धि तामाङ्ग, नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्यको पनि महत्वपूर्ण भूमिकामा छन् । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ ।

आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुति रहेको ‘छक्का पञ्जा ४’को निर्माताहरुमा दीपेन्द्र खनिया र केशव न्यौपाने छन् भने कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।