काठमाडौं। नेपालका दुई ठूला कम्युनिस्ट पार्टी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको विहीवारवाट एक वर्ष पूरा भएको छ। एकीकरणपछिको एक वर्ष सांगठनिक एकतामा केन्द्रित भएको नेकपाभित्र वैचारिक कार्यदिशाबारे पनि बहस हुन थालेको छ।

सांगठनिक एकताको काम अन्तिम चरणमा पुगेपनि एकीकृत पार्टीभित्र वैचारिक मतभेद भने कायमै छ। मतभेद सार्वजनिकरुपमै प्रकटसमेत हुन थालेको छ। दुई पार्टी एकीकरण हुँदा तत्कालीन एमालेको ‘जनताको बहुदलीय जनवाद’ र माओवादीको ‘२१औं शताब्दीको जनवाद’ स्थगित गरी तत्कालका लागि ‘जनताको जनवाद’ वैचारिक कार्यदिशा बनाउने सहमति भएको थियो।

वैचारिक कार्यदिशाबारे एकता महाधिवेशनले टुंगो लगाउने सहमति दुई पार्टीबीच भएको थियो । यद्यपि, पार्टी एकताकै प्रक्रियामा पनि जनताको जनवादबारे पार्टीभित्र असन्तुष्टि थियो। एकतापछिको यो एक वर्षमा वैचारिक कार्यदिशाको विषयले खासै महत्व नपाएपनि शीर्ष नेताहरु अहिले एकाएक बहसमा उत्रिएका छन्।

पार्टीको भ्रातृसंगठन युवा संघ नेपालको स्थापना दिवस समारोहमा पार्टीका शीर्ष नेताहरुबीच वैचारिक कार्यदिशाबारे बहसमात्र भएन, घोचपेच नै चलेपछि पार्टीभित्रको वैचारिक विवाद सार्वजनिकरुपमै छताछुल्ल भएको छ। उपप्रधानमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीभित्र अहिले प्रस्ट राजनीतिक र वैचारिक कार्यदिशा नभएको भन्दै तत्काल पार्टीले वैचारिक कार्यदिशा स्पस्ट पार्नुपर्ने धारणा राखेका छन्।

तत्कालीन एमालेका महासचिवसमेत रहेका पोखरेल जनताको बहुदलीय जनवाद नै नेकपाको पनि मार्गदर्शन सिद्धान्त हुनुपर्ने अडान राख्दै आएका थिए । वैचारिक कार्यदिशाबारे आक्रामकरुपले प्रस्तुत् भएका उपप्रधानमन्त्री पोखरेलले वैचारिक कार्यदिशा स्पस्ट नभए कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्ने चेतावनी दिए।

उपप्रधानमन्त्री पोखरेलको अभिव्यक्तिले आक्रोशित भएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारको शुद्धताका नाममा समयको गति नबुझ्नेहरु समाप्त हुने चेतावनी दिए। प्रचण्डले पुराना विचार दाहोर्‍याएर कम्युनिस्ट पार्टी बन्न नसक्ने जिकिर गरे। एकताको बर्षदिनमा बैचारिक बहस र मतभेद जनसमक्ष छताछुल्ल बन्नु स्वभाविक रुपमा राम्रो भने होइन्। मिलेर एक भएर कम्युनिष्ट एकताको परिचय विश्वलाई दिन नेकपा समर्थ बन्न सक्नुपर्ने सवैको धारणा पाइएको छ।
प्रकाशन मिति–२०७६ साल बैशाख २ गते विहीवार ।