काठमाडौं। काठमाडौ जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ दुई दिदीबहिनीले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्ने घोषणा गरेका छन्। बिहीबार रिपोर्टर्स क्लबमा गोल्डेन आई डान्स सेन्टरले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो।

श्रेष्ठ दिदीबहिनीले यही जेठ ११ र १२ गते काठमाडौंको ठूलो भर्याङ स्वयम्भुस्थित् क्वालिटी क्याफे एण्ड ब्याङ्केटमा उक्त नृत्य गर्ने भएका हुन्। रुबिसा हाल स्नातक तहमा अध्ययनरत छिन् भने एलिसाले कक्षा १२ को परीक्षा दिएकी छिन्। कार्यक्रममा गिनिज वल्र्ड रेकर्ड इभेन्ट नेपालका अध्यक्ष सन्तोष लामाले यसअघि पनि आफूहरुकै संयोजनमा दुईटा विश्व रेकर्ड कायम भैसकेकोले यसपटक पनि सफल हुने विश्वास दिलाए। लामाले विश्व रेकर्ड कायम गर्न लागेका श्रेष्ठ दिदीबहिनीमा आफूले अद्भूत क्षमता पाएको पनि सुनाए।

श्रेष्ठ दिदिबहिनीका बुवा सन्त प्रसाद श्रेष्ठले आफ्ना छोरीहरुमा सानैदेखि नृत्य प्रतिभा रहेको सुनाउँदै अब हुने कार्यक्रमबाट विश्व कीर्तिमानी कायम हुने विश्वास व्यक्त गरे। विश्व रेकर्ड कायम गर्न लागेका श्रेष्ठ दिदिबहिनीले आफूहरुको तयारी राम्रो रहेको सुनाए। उनीहरुले आफूहरु विश्व रेकर्ड कायम गरि नेपालको नाम विश्वसामू चिनाउने लक्ष्यतर्फ अघि बढेको र छिट्टै त्यो उद्देश्य पूरा हुने विश्वास दिलाए। उनीहरुका अनुसार अहिलेसम्म ३२ घण्टासम्म निरन्तर नृत्य गरिसकेकोले अब ४० घण्टा नृत्य गर्न कुनै अप्ठ्यारो छैन्।

यसअघि यो कीर्तिमानी अमेरिकाका नागरिक ब्रेट ग्रिसवल्र्ड र जेनिफर ग्रिसवल्र्डको नाममा छ। उनीहरुले ३८ घण्टा ३० मिनेट निरन्तर नृत्य गरेका थिए।
प्रकाशन मिति–२०७६ साल बैशाख २ गते विहीवार ।