–निर्मल बज्राचार्य
काठमाडौं। शेर्पाहरु हिमालसंग जति नजिक वा सम्बन्धित हुन्छन्। नेवारहरु हिमालसंग त्यति नै टाढा वा असम्बन्धित हुन्छन् भन्ने तथ्यलाई ८६ बर्षकी कवि नारायणदेवी श्रेष्ठ र ३६ बर्षकी कल्पना महर्जनले गलत सावित गरी दिएका छन्।

नारायणदेवी जन्मेको साल विसं.१९९० मा पनि नारीलाई हेयको दृष्टिले हेर्ने गरिन्थ्यो भने कल्पना जन्मेको साल विसं.२०४० मा पनि हेयकै दृष्टिले हेरिन्थ्यो। ५० बर्ष भित्र पनि सचेतना नजागेकोले होला–यी दुवै नेवार महिलाले सर्वाेच्च हिमाल सगरमाथासंग मित लगाएको ।

परिवार र समाजले नारीलाई हेयको दृष्टिले मात्र हेर्ने भएकाले विसं.२००९ सालमा राणाहरुको क्रुर शासनकालमै हनुमानढोकामा भएको साहित्यक महोत्सवमा नेपालभाषामा १९ बर्षकी नारायणदेवीले नारी उत्पीडन विरुद्ध कविता वाचन गर्ने क्रममा नारीले पनि हिमचुली चढेर देखाउन सक्छिन् भनेर उद्घोष गरेका थिए।

जवकि आज भन्दा ६७ बर्ष अघि सगरमाथा चढ्ने त के सगरमाथा वा माउण्ट एभरेष्ट भनी नामांकरण पनि गरेको थिएन । कल्पनाको भोगाई पनि दुरुष्टै थियो । उनी १० बर्ष हुँदा आमाले घरैमा दोस्रो बच्चाको जन्म दिएकी थिइन् । उनको बुबाले  काममा जान अगाडि तिम्री आमाले आज बच्चा जन्माउँछ होला, तिमी स्कुल नजानु, भाई पायो भने मात्र मलाई बोलाउन आउनु भन्ने कुराले मनमा चोट लागेकोले छोरीले पनि साहसिक काम गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्नलाई सगरमाथा आरोहणलाई रोजिन् ।

६७ बर्ष अगाडि नारीले हिमचुली आरोहणको कल्पना गरेकी कवि नारायणदेवी र उक्त कल्पनालाई साकार बनाउने विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनको एकै ठाँउमा साक्षात्कार गर्ने कार्यक्रमको आयोजना काठमाडौंको भोटाहिटीस्थित कवि नारायणदेवी श्रेष्ठको निवासमा भएको थियो।

सो कार्यक्रममा साहसिक कवि श्रेष्ठले साहसिक आरोही महर्जनलाई सगुन दिएर अभिनन्दन गरिन् । अभिन्नदनको क्रममा कवि श्रेष्ठले आफ्नै हस्ताक्षरले आफूले उहिले कल्पना मात्र गरेको कुरालाई एउटी नेवार नारी कल्पनाले सगरमाथा नै चढेर कीर्तिमान कायम गरेकोमा खुसी व्यक्त गर्दै बधाई ज्ञापन गरेकी थिइन्।

हिमाल आरोहणको अनुभव सुनाउने क्रममा आफूले तेस्रो पल्ट जन्म लिएको कल्पनाले प्रसंग सुनाइन् । पहिलो पल्ट आमाबाट जन्मेको, दोस्रो जन्म पहिलो पल्ट हिमाल आरोहण गर्दा ७ दिनसम्म कोमामा गएर बाँचेको र सन् २०१९ मा दोस्रोपल्ट सगरमाथा आरोहण गर्ने क्रममा मर्नै लागेको अवस्थाबाट मृत्युलाई जितेर तेस्रो पल्ट जन्मेको साहसिक, सनसनी एवम् कारुणिक अनुभव सुनाएर सबैलाई भावविह्वल बनाउने कार्य कल्पनावाट भएको थियो।

ललितपुर महानगरपालिकाको प्रायोजनमा शिक्षा मार्पmत बालविवाह रोकथाम नाराका साथ दोस्रो पटक सगरमाथा आरोहण गर्ने महिला पत्रकारको विश्व कीर्तिमान कायम गर्न सफल आरोही कल्पना महर्जनका प्रशिक्षक रविन्द्र महर्जनले कल्पनाको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गर्ने प्रक्रियामा लागेको जानकारी सोही कार्यक्रममा दिए।

आरोही महर्जनले आफ्नो सक्रियतामा माउन्टेन स्कुलको स्थापना निकट भविष्यमा गर्ने योजना भएको प्रसंग उल्लेख गर्दै आफ्नो मस्तिष्कले आफूलाई कुनै काम गर्न अह्राएमा उक्त कार्य सिद्ध हुने अनुभव हिमाल आरोहणबाट प्रमाणित भएको कुरा उल्लेख गरेकी छन्। उक्त कार्यक्रमको संयोजन कवि श्रेष्ठका ज्येष्ठ पुत्र दिनेशराम श्रेष्ठले गरेका थिए।
प्रकाशन मिति–२०७६ साल फागुन १८ गते आइतवार ।