काठमाडौ। नेपाल सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर नेपालको गौरब विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ। सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी पूरा गरेको छ।

यसका लागि सरकारले रु दुई करोड विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको बताइएको छ। भूमिसुधार मन्त्रालयले सगरमाथाको उचाइ नेपालले आफ्नै स्रोत र जनशक्ति प्रयोग गरी मापन गर्नुपर्छ भनेर गतवर्ष नै प्रस्ताव गरेको थियो। सोहीअनुरुप नेपाल सरकारले बजेट तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेपछि आवश्यक तयारी गरी मापनको अन्तिम चरणमा पुगेको हो।

भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले उचाइ मापनको कार्य अगाडि बढाएको छ । मापन कार्य शुरु गर्नुपूर्व विभागले भारत, चीनलगायत विभिन्न देशका नापनक्सासँग सम्बन्धित केन्द्रीय निकायका प्रतिनिधि, वैज्ञानिकसहितको अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको छ।

विश्वको सर्वोच्च शिखरका रुपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा भइरहेका बेला नेपालले अन्तर्राष्ट्रियस्तरमा मान्य हुने प्रविधि प्रयोग गरी मापन गर्ने गृहकार्य अगाडि बढाइएको हो। यसअघि १७० वर्षअघि तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी ८ हजार ८ सय ४८ मिटर भएको निष्कर्ष निकालेको थियो।

तत्पश्चात् विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए । तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन। सबै पूर्वतयारी सकिएकाले मापनको कार्य तत्काल शुरु गर्ने नापी विभागले जनाएको छ। आगामी दुई वर्षभित्र उचाइ मापन कार्य सक्ने विभागले जनाएको छ।


प्रकाशन मिति–२०७४ साल मंसीर २९ गते शुक्रबार ।