चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज शुक्रवार देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ। पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो।

जिल्ला सुरक्षा समितिको बैठकले सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेअनुसार आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोक लगाएको हो।

सडकको निर्माण कार्य सकिएपनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको मुग्लिन नारायणगढ सडक आयोजनाले जनाएको छ। पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने कार्य हुने भएको छ।

सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङगामा रोकिनेछन्। यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आबुखैरहनीमा रोकिने छ।

सो अवधिमा एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारीसाधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
प्रकाशन मिति–२०७६ साल मंसिर २७ गते शुक्रवार ।