काठमाडौं। दुई हात र एक खुट्टा नभएतापनि पत्रकारिता क्षेत्रमा विशेष योगदान दिदैआएकी कमला श्रेष्ठलाई यो बर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारवाट पुरस्कृत गरिएको छ।

नगद १५ हजार राशीको उक्त पुरस्कार प्रेस काउन्सिलको ५१ औं बार्षिक उत्सवको अवसरमा संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा, काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारग्राममा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरेका हुन्।

त्यसको अलावा गणेश राई र गणेश चौधरीलगायतलाई पुरस्कृत गरिएको छ। राईलाई ‘भाषागत पत्रकारिता पुरस्कार’ र चौधरीलाई ‘युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। पुरस्कारको राशि क्रमशः २० हजार र १५ हजार रुपैयाँ रहेको छ। हुम्लामा कार्यरत पत्रकार अर्जुन बोहोरालाई ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार’ दिइएको छ। पुरस्कारको राशि १ लाख १० हजार रूपैयाँ रहेको छ।

जनही २० हजार रुपैयाँ राशिको ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ सातजनाले पाएका छन् । जसमा ऋषि धमला, नितु पण्डित , गोविन्द क्षेत्री, राजन कार्की, धर्मेन्द्र कर्ण, उमेश श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ छन् । २० हजार रुपैयाँ राशिको ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक नवराज रिजाललाई प्रदान गरिएको छ ।

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट कमला श्रेष्ठ सहित १४ जना पत्रकारलाई प्रदान गरिएको छ। पुरस्कृत हुनेमा सटेन्द्र जबेगु, सुरेशचन्द्र अधिकारी, माधव पौडेल, गणेश चौधरी, गिरिजा अधिकारी, राजु विश्कर्मा, राजन सिंह, देवीकुमारी गुरुङ, रेणु पराजुली, दीपेन्द्र वली, शेरबहादुर थापा, राधिका कँडेल र शान्ता कमली छन् । पुरस्कारको राशि जनही १५ रुपैयाँ रहेको छ।

यसअघि मंगलबार बिहान शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार शम्भु श्रेष्ठलाई ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ प्रदान गरेकी थिइन् । पुरस्कारको राशि १ लाख ५१ हजार रुपैयाँ रहेको छ। सोही समारोहमा ५० हजार रुपैयाँ राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार डिजिटल पत्रिका सेतोपाटीलाई प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७७ साल असोज ६ गते मंगलवार ।