Bara crime 1

काठमाडौ। नेपाल र भारतीय प्रहरीको अत्यन्त खोजीमा रहेका नेपाली नागरिक समसुल होदासहित चारजनालाई नेपाल प्रहरीले पक्राउ गरी मंगलबार बारा जिल्लाको कलैयामा सार्वजनिक गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले दुबई प्रहरीको सहयोगमा उनीहरुलाई नेपाल झिकाएर काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। दुबई प्रहरीको सहयोगमा नेपाल र भारतीय प्रहरीको अत्यन्त खोजीमा रहेका समसुल होदासहित चारजना नेपालमा पक्राउ गरेको हो ।

 

 

बारा जिल्लाका होदाले दुबईमा बसेर नेपाली र भारतीय गिरोह चलाउँदै आएको नेपाल प्रहरीको आरोप छ । होदा गिरोहमाथि नेपालमा हत्या र भारतमा आतंकवादी गतिविधि सन्चालन गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको जनाइएको छ।

होदासँगै पक्राउ परेकाहरुमा गढीमाई नगरपालिका–८ घर भएका ‘बाबा’ भनिने बाराका बृजकिशोर गिरी, कलैया नगरपालिका–४ घर भएका आशिष सिंह र उमेशकुमार कुर्मी रहेका छन् । होदाले दुबईमा बसेर पाकिस्तान र मलेसियाका आपराधिक समूहको निर्देशनमा नेपाल र भारतमा आपराधिक गतिविधहरु सन्चालन गर्दै आएको बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताएका छन् ।

Bara crime 2

अपराधिक गिरोहको अपराध
गत मंसिर ५ गते भारतीय रेलवेको पटना–इन्दौर एक्सप्रेस रेल उत्तर प्रदेशको कानपुर क्षेत्रमा दुर्घटना हुँदा १५० जना यात्रीको ज्यान गएको थियो। सो घटनामा नेपाली र भारतीय आपराधिक समूह संलग्न रहेको भारतीय प्रहरीको निश्कर्ष थियो। भारतीय सुरक्षा एजेन्सीहरुले पाकिस्तानी अतिवादी संस्था ‘आइएसआई’को त्यसमा संलग्नता रहेको दाबीसमेत गरेका थिए।

बारामा भएको दुईजनाको हत्याको घटना पनि कानपुर रेल दुर्घटनासँग जोडिएपछि प्रहरीले विशेष अनुसन्धान अघि बढाएको थियो । सो हत्याको आरोपमा प्रहरीले बृजकिशोर गिरीलाई पक्राउ गरेको थियो। पुस १३ गते बाराको करैया जंगलमा सहजनाथ महादेव मन्दिरनजिक दुईजना भारतीयको शव फेलापरेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा यो आपराधिक गिरोहको गतिविधिकोबारेमा खुल्न आएको हो । जंगलमा फेलापरेको शव पूर्वी चम्पारण, आदापुरनजिकको पोखरिया घर भएका भारतीय नागरिक दीपक राम र अरुण रामको थियो।

मारिएकाहरुले ‘बाबा’ भन्ने बृजकिशोर गिरीमार्फत् भारतीय रुपैयाँ ३ लाखको दरले ६ लाख पेश्की लिएर रक्सौल–दरभंगा रेललाइनमा विस्फोट गराउने जिम्मा लिएका थिए। योजना सफल हुन नसकेपछि सर्तअनुसार दीपक र अरुणले पैसा फर्काएनन् । सो पैसा दुबईबाट मुख्य योजनाकार समसुलले नै पठाइदिएको पनि अनुसन्धानबाट खुलेको बारा प्रहरीको भनाइ रहेको छ । पछि उक्त योजना र त्यससँग जोडिएका व्यक्तिहरुको जानकारी दीपक र अरुणबाट फुत्किनसक्नेसमेत देखेर उनीहरुको हत्या गरिएको खुलेको छ।

यसपछि प्रहरीले गिरीको खोजतलास सुरु गरेको थियो । सिमावर्ती गाउँ पर्साको बिजबनियाबाट पुस २५ मा दोहरो मुठभेडपछि गिरीलाई खुट्टामा गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको थियो । ‘बाबा’ भनिने गिरी समातिएपछि समग्र सन्जालबारे प्रहरीलाई थप जानकारीहरु आएको थियो। सोही अनुसन्धानलाई अघि बढाउँदै लैजाँदा समसुल होदाले दुबईमा बसेर आपराधिक गिरोह चलाएको खुलासा भएको पनि प्रहरीले बताएको छ । सो गिरोहमा संलग्न अरु व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशन मिति–२०७३ साल माघ २५ गते मंगलवार ।