काठमाडौ। दुवै किडनी फेल भएर अमेरिकामा मर्नु न बाँच्नुको दोसाँधमा परेका नेपालका पप सम्राट गायक ओम विक्रम विष्टके सहयोगार्थ नेपालमा फन्ड राइजिङ प्रोग्राम भएको छ। काठमाडौको ओपन थियटर टुंडिखेलमा रिबेल इभेन्ट्सको आयोजना र बिग नाइट्स इभेन्ट्सको ब्यबस्थापनमा उक्त कार्यक्रम संपन्न भएको हो।

नेपालका एक से एक चर्चित गायक–गायिकाहरुले ओम विक्रम विष्टमा समर्पित विष्टकै गीत गाएर तहल्का मच्चाएका थिए। रिबेल इभेन्टका म्यानेजिङ डाइरेक्टर राजेश हमालले नेपाल सरकारले पप सम्राट गायक ओम विक्रम विष्टको सहयोगार्थ केही नगरेको कारण आफ्नो कंपनीले अमेरिका फन्ड राइजिङ प्रोग्राम गरेको लगतै नेपालमा पनि गरेको बताए।

अमेरिकाको न्यूयोर्कमा रिबेल इभेन्ट्स र नेपाल अमेरिकन कलाकार एसोसिएसनको संयुक्त आयोजनामा भएको कार्यक्रम भब्य रुपमा सफल भएको थियो। उक्त कार्यक्रमबाट रु ७ हजार १ सय ८९ डलर उठेको थियो उक्त रकमको १ हजार डलर संगीतकार पूर्ण गुरुङ्गलाई हस्तान्तरण गरेको थियो भने बाँकी ६ हजार १ सय ८९डलर पप गायक ओम बिक्रम बिष्टलाइ हस्तान्तरण गरिएको थियो।

नेपालमा शनिवार गरिएको ओपन थियटर टुंडिखेलमा निःशुल्क प्रवेश प्रोग्राम गरिएको कारण दर्शकको प्रवेशवाट सहयोग संकलन हुन नसकेपनि प्रायोजकको तर्फवाट संकलन हुने रकम ओम विक्रम विष्टको उपचार्थ सहयोग हस्तान्तरण गरिने आयोजक रिबेल इभेन्टका म्यानेजिङ डाइरेक्टर हमालले भिजन संसारलाई भनेका छन्।

नेपालमा भएको ओम विक्रम विष्ट फन्ड राइजिङ प्रोग्राममा भीम तुलाधर, संजय श्रेष्ठ, जेम्स प्रधान, सचिन रौनियार, कविन्द्र श्रेष्ठ, प्रमोद निर्वाण, जोहेब मानन्धर, अशोसिन लामा, रवि रिमाल, ज्योति घिमिरे, कमलमान सिंह, इथोज व्याण्ड, पुण्यम प्रधान, संजना श्रेष्ठ, उदेश श्रेष्ठ, अभिषेक तामाङ, महादेव त्रिपाठी, सिर्जना खत्री, उलसन श्रेष्ठ, प्रभात रिमाल, हरिशरण लामिछाने, मानस राज, सुरज प्रताप सिंह, राज बराइली लगायत थुप्रैले गीत–संगीत प्रस्तुत गरेर रौनकता थपेका थिए।

आयोजक अमेरिकाको रिबेल इभेन्ट्स इन्कमा गायक राजेश हमाल प्रेसिडेन्ट तथा एटना कार्की भाइस प्रेसिडेन्ट रहेका छन्। नेपालको भाइस प्रेसिडेन्ट समिर हमाल हुन्। कार्यक्रमका संयोजक बीग नाइट इभेन्टको चेअरमेन कुबेर कार्कीले सवै गायक–गायिकाले ओम विक्रम विष्ट फन्ड राइजिङ प्रोग्राममा निःशुल्क गाएर अतुलनिय सहयोग गरेको खुलासा गरेका छन्। कार्कीले सहयोग गर्ने सवैलाई धन्यवाद पनि ज्ञापन गरेका छन्।

प्रकाशन मिति–२०७४ साल चैत्र २७ गते मंगलवार ।