ललितपुर । देशमा शान्ति र कल्याणको कामना सहित ललितपुरको गाःबहालस्थित प्राचिन पूर्णचण्डी मन्दिर प्राङ्गणमा श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ प्रारम्भ भएको छ। चैत्र १० गते आइतबार देखि लक्षाहुति यज्ञ प्रारम्भ भएको सशक्त संचारकर्मी विराजकाजी राजोपाध्यायले भिजन संसार डटकमलाई बताएका छन्। लक्षाहुति चैत्र १६ गते शनिबारसम्म हुने भएको छ।

ग्रहदोषका कारण काम नबन्ने, रोगव्याधिले सताउने, घरमा साथै समाजमा कलहको वातावरण भइराख्ने धार्मिक मान्यता हाम्रो समाजमा अद्यापि रहिआएको छ। यस्तो अवस्थामा शक्तिको उपासनाबाट रूप, जय, यशको साथमा चिताएको फल प्राप्त हुने धार्मिक मत छ। सोहीअनुसार देशमा शान्तिको वातावरण होस्, देशवासीको कल्याण हुनुका साथै सामाजिक सद्भाव, शान्ति कायम रहिरहोस् भन्ने पवित्र उद्देश्यले यो यज्ञको आयोजना गरिएको आयोजक समितिका श्रीजय शर्माले भनेका छन्।

यस यज्ञबाट प्राप्त रकम उपाकर्म गुठी ललितपुरले प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीमा हुने भगवान् नृसिंह जात्रा (उपाकलं सायाः)का लागि प्रयोग गरिने लक्ष्य राखेको पनि संयोजक शर्माको भनाई रहेको छ।

उपत्यकाका आदिवासी कौलिक देव ब्राह्मण (राजोपाध्याय वा देवभाजु) ले हिन्दु धर्मअनुसार उपाकर्म तथा श्रावणी कार्य सम्पादनका लागि उपाकर्म गुठीको व्यवस्था छ। यससँगै उपाकर्म गुठी ललितपुरले उपाकर्म संस्कारसँगै प्रत्येक वर्ष विश्व शान्तिको कामनाका साथ नृसिंह जात्रा (उपाकलं सायाः) निकाल्ने गर्दछ।
प्रकाशन मिति–२०७५ साल चैत्र ११ गते सोमवार ।