काठमाडौं। काठमाडौं उपत्यका लगायत देशभर नै असारे पानीको बर्षा हिजो शुक्रवार साँझवाट अविरल भैरहेको छ। अधिकांश स्थानमा भारी वर्षा भैरहेको छ।अविरल बर्षावाट खेती किसानी गर्ने कृषकहरु दंग परेका छन्। रोपाई मज्जाले गर्न पाइने भयो भनेर रमाएको पाइन्छ। अर्कोतर्फ अविरल बर्षाको कारण शहरी जीवन भने कष्टप्रद बनेको छ। त्यस्तैगरेर, देशभर अविरल बर्षाको व्यापक प्रभाव परेको छ।

विभिन्न भागमा राजमार्गहरु अवरुद्ध भएका छन्। वीपी राजमार्ग, बुटवल पाल्पा सडक खण्डसँगै भोजपुर धरान जाने बाटो बन्द भएको छ। गृह मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन परिचालन केन्द्रका अनुसार चारवटा राजमार्ग अहिलेसम्म बन्द भएका छन्। काभ्रेको रोशी गाउँपालिकाको दुई स्थानमा पहिरो जाँदा वीपी राजमार्ग अवरुद्ध भएको छ। गाउँपालिकाको वडा नम्बर ११ को कालढुङ्गामा र वडा नम्बर ७ मा रोशी खोलाको पुल नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।
यस्तै बुटवलबाट पाल्पा जाने बाटो पनि बन्द भएको छ।

लमजुङ हुँदै मनाङ जाने बाटो पनि वर्षापछिको पहिरोका कारण बन्द भएको छ। भोजपुर धरान सडकखण्ड पनि अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

भारी वर्षाको कारण प्रदेश १, २, ३ का चुरे र पहाडको क्षेत्रबाट बहने प्राय नदीहरूमा जलसतह सतर्कता तह आसपास पुगिसकेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। थप वर्षा हुने क्रम जारी रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यता मौसम पूर्वानुमान महाशाखाले मनसुन पूर्ण सक्रिय भई देशभर पूर्ण बदली भई पानी परिरहेको जनाएको छ। महाशाखाका अनुसार शुक्रवार र शनिवार देशका अधिकांश स्थानहरूमा वर्षा हुनेछ। केही स्थाहरुमा भारी वर्षा हुने र थोरै स्थानहरूमा अत्यधिक वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ। उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।


प्रकाशन मिति–२०७६ साल असार २७ गते शुक्रवार ।