काठमाडौ। मंसीर २१ गतेको दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सकिएको लगतै नेपाली कांग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई मार पर्ने गरेर पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ। मंसीर २२ गते शुक्रवार राति १२ बजेपछि लागू हुने गरी मूल्य बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ।

निगमको शुक्रवार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३–३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ।

निगमका अनुसार नयाँ मूल्यसूची अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७–७७ रुपैयाँ र हवाई इन्धन–आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ।

त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ। यो मूल्य काठमाडौं उपत्यका, सुर्खेत र दिपायलका लागि तय गरिएको हो।

 पोखरा र दाङमा भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य प्रत्येकमा ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

त्यस्तै, चारली, वीरगञ्ज, विराटनगर, महेन्द्रनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा डिपोबाट १५ किलोमिटर दूरीमा खरिद गर्ने उपभोक्ताले प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रत्येकमा ७५ रुपैयाँ ५० पैसा मा खरिद गर्न पाउनेछन्।

खाना पकाउने ग्यासको मूल्य तराईका जिल्लामा १३ सय ५० रुपैयाँ तथा दाङ, कैलाली, बाँके, बर्दिया र कञ्चनपुरमा १३ सय १५ रुपैयाँ कायम गरिएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर २२ गते शुक्रबार ।