काठमाडौं। दशैंपछिको हिन्दू नेपालीहरुको दोश्रो महान पर्व तिहार आजवाट शुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने तिहारको पहिलो दिन आज काग तिहार पर्व परेको छ। आज यमराजको दूतका रुपमा कागलाई मीठो खानेकुरा खान दिएर काग तिहार मनाउने कार्य भएको छ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने गरेको शास्त्रीय विधान रहेको छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुशी पार्ने गरिएको कथन रहेको छ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ। कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ।
प्रकाशन मिति–२०७६ साल कात्तिक ९ गते शनिवार ।