Local Electionकाठमाडौ। नेपाल सरकारले जेठ ३१ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दोस्रो चरणको निर्वाचन आगामी असार ९ गते शुक्रबार गर्ने निर्णय गरेको हो।

राष्ट्रिय जनता पार्टी नेपाललगायतका मधेसकेन्द्रित दलहरुलाई दल दर्ता र निर्वाचन चिह्न प्रदानको समय दिने उद्देश्यले निर्वाचन सार्ने निर्णय गरिएको काम चलाउ सरकारका सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले बताएका छन्। निर्वाचनको नयाँ मिति तोक्नुअघि निर्वाचन आयोगका पदाधिकारीसँग पनि परामर्श गरिएको जनाइएको छ।

सरकारले यसअघि दोस्रो चरणको स्थानीय तह निर्वाचन जेठ ३१ गते गर्ने निर्णय गरेको थियो। दोस्रो चरणमा ४६१ स्थानीय तहमा निर्वाचन हुनेछ। पहिलो चरणमा २८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १५ गते सोमवार ।