काठमाडौं। अंग्रेजी बाल साहित्यलाई नेपाली बाल–बालिकामाझ सहज ढंगवाट इन्टरनेटको माध्यमवाट उपलव्ध गराउने उदेश्यले त्यसको नेपालीमा अनुवाद कार्य प्रारम्भ भएको छ। द एसिया फाउण्डेसनले डिल्लीरमण–कल्याणी पुस्तकालय र शिक्षा नेपालको सहकार्यमा दुईदिने अनुवाद कार्यशाला शनिवार प्रारम्भ भएको हो।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा दुईदिने अनुवाद कार्यशाला शुभारम्भ भएको हो। आइतवारसम्म चल्ने अनुवाद कार्यशालामा पचास भन्दा बढी अंग्रेजी बाल साहित्यलाई नेपालीमा अनुवाद गर्ने कार्य हुने भएको छ।

भोलियन्टर अनुवादक तथा सम्पादकहरुको टीमवाट अनुवाद कार्यशाला प्रारम्भ भएको जानकारी द एसिया फाउण्डेसनकी प्रशासकीय प्रमुख समिरा राजभण्डारी श्रेष्ठले दिएकी छन्। प्रशासकीय प्रमुख श्रेष्ठका अनुसार, नेपाली भाषामा अनुवाद कार्यशाला भएको यो छैठौ पल्ट हो। यसअघि नेपालभाषा र थारुभाषामा पनि बाल साहित्यको अनुवाद भैसकेको छ।

लेट्स रिड डिजिटल लाइब्रेरीको विकास मार्फत निःशुल्क रुपमा शहर देखि गाउंसम्मका दूरदराजका बालबालिकालाई उपलव्ध गराउने कार्यको बृहत विकास गर्ने कार्य द एसिया फाउण्डेसनवाट भएको जानकारी फाउण्डेसनका कार्यक्रम निर्देशक विष्णु अधिकारीले बताएका छन्।

निर्देशक अधिकारीका अनुसार, नेपालमा मात्र विभिन्न निकाय, शैक्षिक संस्था र सार्वजनिक पुस्तकालयहरुलाई ४ लाख ६० हजार भन्दा बढी पुस्तकहरु निःशुल्क उपलव्ध गराइसकेको छ। एसियाका २१ देशहरुमा सन् १९५४ सालदेखि ५ करोड २० लाखभन्दा बढी पुस्तकहरु निःशुल्क रुपमा उपलव्ध गराउने कार्य द एसिया फाउण्डेसनले गरिसकेको छ।

कार्यक्रममा नेपालका प्रतिष्ठित साहित्यकार शान्तदास मानन्धर, बाल कथा लेखक विनय कसजु, सोसल सइन्स बहाका डा.निर्मलमान तुलाधर, सामुदायिक बाल विकास केन्द्रकी सभापति इन्दिरा दली, डिल्लीरमण–कल्याणी मेमोरियल पुस्तकालयका लाइब्रेरियन भोला श्रेष्ठ, शिक्षा नेपालका अध्यक्ष प्रेम वोहोरा, दृष्टिविहिन प्रोफेसर डा.गोविन्दप्रसाद आचार्य लगायतले नेपाली बाल साहित्यमा अनुवाद साहित्यको आवश्यकता र महत्वको वारेमा प्रकाश पारेका थिए।

प्रकाशन मिति–२०७६ साल साउन ३२ गते शनिवार ।