काठमाडौं। धुमपान अर्थात चुरोटजन्य पदार्थको सेवन सवैको लागि टाउको दुखाइको विषय बन्दैआएको छ। जसको कारण फोक्सोको क्यान्सर लगायतका घातक रोगले बर्षेनी विश्वभर लाखौंको ज्यान जाने गरेको छ।

यसकारण बेलायतमा धुमपानको दर घटाउनका लागि एक शहरमा पाइलट काउन्सिल योजनाको प्रस्ताव ल्याइएको बेलायती समाचार माध्यमले संप्रेषण गरेको छ। समाचार अनुसार, बेलायती सरकारले धुमपान छाड्ने एक व्यक्तिलाई करिब ३२ हजार रुपैयाँ नगद दिने व्यवस्था गरिएको छ। साथै गर्भवती महिलाका लागि योजना अनुरुप दोब्बर नगद दिने व्यवस्था गरेको छ।

बेलायतको चेसायर शहरमा लामो समयदेखि धुमपानको दर नघटेका कारण यस्तो योजना ल्याइएको समाचारमा उल्लेख छ। धुमपानको बढ्दो आकडालाई नियन्त्रण गर्न चेसायर शहरका गर्भवती महिलालाई पनि यो योजनामा समावेश गरिएको छ। योजना अनुसार धुमपान छाड्ने एक व्यक्तिलाई ३२ हजार नगद रुपैयाँ र गर्भवती महिलाले धुमपान छोडे त्यसको दोब्बर ६४ हजार नगद रुपैयाँ दिने व्यवस्था गरिएको छ। यदि यो योजना प्रभावकारी साबित भए देशका अन्य शहरमा पनि लागू गरिने छ।

योजना अनुसार कुनै व्यक्तिले धुमपान छोडेको दाबी गर्दछ भने उसले एक्सहेल्ड कार्बन मोनो अक्साइड परीक्षण गराउनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार धुमपान छोडेका मानिसलाई नगद दिँदा किस्तामा दिइने छ। वित्तीय प्रोत्साहन योजना धुमपान छाड्न चाहने मानिसका लागि मद्दत गर्ने एउटा प्रभावकारी माध्यम भएको बेलायती सरकारको दाबी छ।

समाचारका अनुसार एक दिनमा २० पटक धुमपान गर्नेहरूले धुमपानमा धेरै रकम खर्च गर्छन्। यसबाहेक फोक्सोको क्यान्सर भएका बिरामी धुमपानसँग सम्बन्धित छन्। धुमपानका कारण अन्य समस्याहरू पनि देखिने गर्छ। यस योजनाका लागि करीब १ करोड भन्दा बढी रुपैयाँ विनियोजन गरिएको छ। यो योजना आगामी जुलाई देखि लागूहुने छ ।