काठमाडौ। ध्रुम्रपान सवैको लागि हानिकारक छ। धुम्रपान हरेक मानिसको स्वास्थ्यको लागि खतरायुक्त हुन्छ । तर, एउटा अध्ययनले महिलाको स्वास्थ्यमा धुम्रपानले धेरै असर गर्ने देखाएको छ ।
बढ्दो शहरीकरणसँगै चुरोट पिउने महिलाको संख्या पनि दिनानुदिन बढ्दो छ।

महिलाहरुमा धुम्रपान गर्ने फेसनको रुपमा विकास भएको छ। जुन दिनानुदिन नितान्त खतरनाक सावित हुंदैगएको स्वास्थ्यविज्ञहरुको भनाई रहेको छ। धुम्रपानले पुरुषलाई एक गुणा असर पर्ने गरेको छ भने, त्यसको तीन गुणा महिलालाई असर पर्ने गरेको छ। अझ धुम्रपान गर्ने पुरुषका धुम्रपान नगर्ने पत्नीलाई समेत त्यसको असर पर्ने गरेको छ। त्यसमाथि, धुम्रपान गर्ने महिलालाई त झनै असर पर्ने गरेको छ। जुन निम्नानुसारको रहेको छ–

गर्भपतनको खतरा
चुरोट वा बिडि सेवन गर्ने महिलालाई गर्भावस्थामा विभिन्न समस्याहरु देखापर्छन् । जसले महिलाहरुमा बाँझोपन तथा गर्भपतनको समस्था पैदा गराउँछ ।

भ्रुणको विकासमा रोक
गर्भावस्थामा महिलाले धुम्रपान गर्दा भ्रुणको विकासमा रोकावट आउने डाक्टरहरु बताउँछन् । त्यतिमात्र होइन बच्चाको प्रजनन् क्षमतामा समेत नराम्रो असर देखापर्छ ।

स्तनपान
जुन महिलाले धुम्रपान गर्छिन् ति महिलाहरुको स्तनमा दुधको मात्रा कम हुन्छ । जसले उनको बच्चामा नकारात्मक असर पर्छ ।

बच्चामा कुपोषण
अनुसन्धानमा उल्लेख भएअनुसार यदि आमाले गर्भावस्थाको सुरुको अवस्थामा चुरोट पिउने गरेकी छिन् भने उनको सन्तान कुपोषणको सिकार हुन्छन् । गर्भमा बच्चा हुँदा चुरोट पिउने महिलाको सन्तानलाई पोषण तत्वको कमि हुन्छ ।

हड्डी कमजोर हुने
एक अनुसन्धानको अनुसार चुरोट पिउने महिलामा दुई प्रकारका प्रोटिनको निर्माण हुन सुरु हुन्छ। अस्थिर कोशिकाहरु ‘ओस्टेओक्लास्टस’ को निर्माणमा वृद्धि हुन्छ । जसले हड्डीमा मासीहरुको मात्रामा कम गर्दै लैजान्छ र हड्डी कमजोर हुन सुरु हुन्छ ।

मुटु, फोक्सो र मृगौलामा असर
चुरोट पिउने महिलाहरुमा ‘कोरोनरी हर्ट डिजिज’ जस्तो मुटुको रोग लाग्न सक्छ । त्यसैगरी फोक्सोमा चुरोटको धुँवाले असर गर्छ । पुरुषसरह धुम्रपान गर्ने महिलालाई फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ। साथै, दैनिक एक प्याकेट चुरोट पिउने महिलाको मृगौला बिग्रिने सम्भावना ५१ प्रतिशतले बढी हुन्छ।

दमको शिकार
धुम्रपान गर्ने महिलाको शरीरमा कार्बन मोनोअक्साइडको मात्रा बढ्छ । अक्सिजनको मात्रा कम हुँदै जाँदा स्वासप्रस्वासमा समस्या आउँछ र दम जस्तो गम्भीर रोग लाग्छ ।

चाउरीपना
पुरुषको तुलनामा महिलाको छाला धेरै मुलायम र कमजोर हुन्छ । त्यसैले चुरोटको असर महिलामा बढी हुन्छ । जुन महिला चुरोट पिउँछन् ति महिलामा चाउरीपन, डार्क सर्कल र ओठमा कालोपनको समस्या बढी हुन्छ ।


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७५ साल चैत्र १९ गते मंगलवार ।