काठमाडौ । हावाहुरीको मौसम सुरु हुन लागेको छ । आँखामा धुलो परे बिझाउने र आंशु आउने हुन्छ । अनि धुलोको कण निकाल्न आँखा मिच्न सुरु हुन्छ। तैपनि आँखाको धुलो जाँदैन । त्यसपछि के गर्नुहुन्छ ? आँखामा अकस्मात पसेको धुलोका कण वा साना बस्तु हटाउने केही तरिका छन् । यी तरिका अपनाउन सकेमा सजिलै आँखामा पसेका चिज हटाउन सकिन्छ।

Eyer Tears 1

–आँखामा पसेको जुनसुकै धुलो वा किटाणु वा फोहर अड्केमा त्यसबाट छिटो भन्दा छिटो मुक्ती पाउन आँखा झिमिक–झिमिक गर्न सक्नुहुन्छ । जति छिटो आँखा झिम्क्याउनु हुन्छ कण हट्ने सम्भावना पनि त्यति नै बढी हुन्छ ।

–कहिलेकाही सानो कण तपाईको आँखाकोे ढकनी मुनी अड्किने सम्भावना हुन्छ । यस्तो अवस्थामा तपाईंको आँखाको माथिल्लो ढकनीलाई हल्का बाहिर तानिदिनुहोस् र तल्लो ढकनीमाथि राखिदिनुहोस् । त्यसपछि भित्रको धुलो वा कण हटाउन आँखाको गेडी तलमाथि वा दायाँबायाँ घुमाउनुहोस् । पहिलो पटकमा यो काइदाले काम नगरे पनि बारम्बार दोहोर्याउनुभयो भने अवश्य पनि धुलो झर्न सक्छ ।

–चिसो पानी लिनुहोस् र आँखामा पानी छम्किदिनुहोस् । तपाईंले आँखा खुला गरेर बगिरहेको पानीको धारामा बिस्तारै रााखेर मिच्न पनि सक्नुहुन्छ । पानीले तपाईंको आँखालाई कुनै असर गर्दैन तसर्थ धारामा आँखा राख्न डराउनु पर्दैन । यदि धारामा आँखा लैजान डर लाग्छ भने सफा भाडा (वाटा वा थाल ) मा सफा पानी राखेर अनुहार डुबाएर पानीभित्र हेर्नुहोस् तत्कालै आँखाको धुलो हट्नेछ ।

Eyer Tears 2

–कटनको लुगाको एउटा टुक्रालाई पानीमा भिजाउनुहोस् र तपाईंको आँखाको साइडलाइ हल्का दबाउनुहोस् । आँखाको कोर्निया निकै सम्बेदनशिल हुने भएकाले र यसले आँखामा चोट पुर्याउने भएकाले कटनले कोर्नियालाई नघोट्नुहोस् । सेतो कटनलाई प्रयोग गर्नुहोस् ताकि आँखाबाट धुलो हटेको सजिलै पहिचान गर्न सक्नुहुन्छ ।

–आफैले आँखाको धुलो हटाउन गाह्रो हुन्छ भने साथीको सहयोगमा धुलो हटाउने प्रयास गर्नुहोस् ।
आँखाको ढकनी उचालेर साथीको सहयोग लिनुहोस्।

प्रकाशन मिति–२०७३ साल बैशाख २४ गते शुक्रवार ।