काठमाडौं। विभिन्न सभा तथा समारोहमा धेरैलाई सम्मान गर्ने कार्य गरिसकेका नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकै सम्मान भएको छ। वर्तमान तथा भूतपूर्व जीवित श्रीगणेश–श्रीभैरव संरक्षण समितिले आइतवार मेयर शाक्यको सम्मान गरेको हो।

काठमाडौं महानगरपालिका वडा नंबर २१ स्थित त वहा, लगंमा आयोजित कार्यक्रममा मेयर शाक्यको सम्मान गरेर मेयरको महत्व र आवश्यकतालाई इंगित गर्ने कार्य भएको छ। जीवन्त र राजकीय संस्कृतिका रुपमा मनाइने येँया (इन्द्रजात्रा) पर्वमा बिशेष पूजा आराधना गरिने जीवित देवीदेवतामध्ये श्रीगणेश र श्रीभैरवका रुपमा रहेका पूर्व गणेश र भैरवको जीविकोपार्जनका लागि अभिभावकत्व लिएका मेयर शाक्यलाई त्यसको व्यापक कदर स्वरुप सम्मान गरिएको समितिले जनाएको छ।

आफ्नो जीवनको अमूल्य बाल्यकाल श्रीगणेश र श्रीभैरवका रुपमा रहेका जीवित देवीदेवताको महत्व मनन गरेर यसको संरक्षण, बिकास र निरन्तरताका लागि काठमाडौं महानगरपालिकावाट मासिक भत्ता व्यवस्था र अमूर्त संस्कृतिको संरक्षणमा योगदान गरेवापत मेयर शाक्यलाई सम्मान गरिएको सम्मान पत्रमा लेखिएको छ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७०–०७१ देखि पूर्वकुमारीलाई मासिक १० हजार र पूर्वगणेश तथा भैरवलाई मासिक ८ हजार रुपैयाँका दरले भत्तासहित सम्मान प्रदान गर्न थालेको हो । स्थानीय तहमा जनप्रतिनिधिको आएपछि २०७५ सालबाट साविक रकमलाई बढाएर पूर्व कुमारीलाई १५ हजार रुपैयाँ र पूर्व गणेश तथा भैरवलाई मासिक १२ हजार रुपैयाँ भत्ता प्रदान गर्न थालिएको हो।

सम्मान ग्रहण गरेपछि कार्यक्रममा बोल्दै मेयर शाक्यले इन्द्रजात्राको दिगो व्यवस्थापनकालागि काठमाडौं महानगरपालिकाले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा ५ करोड रुपैयाँको अक्षय कोष स्थापना गरिसकेको बताएका छन्।

कोषमा महानगरपालिकाले २ करोड रुपैयाँ राखेको छ भने नेपाल सरकारकातर्फबाट १ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारकातर्फबाट १ करोड रुपैयाँ र गुठी संस्थानबाट ५० लाख रुपैयाँ छ। मेयर शाक्यले संस्कार र संस्कृतिको निरन्तरताका लागि आफू प्रयत्नशील भएर लाग्ने बताएका छन्।
प्रकाशन मिति–२०७६ साल माघ १३ गते सोमवार ।