काठमाडौ। प्रहरी केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) को टोली काठमाडौवाट खटिएर गएर चितवन र वीरगञ्जका १२ जना डाक्टरलाई नक्कली डाक्टरको आशंकामा विभिन्न अस्पताल तथा क्लिनिकवाटै पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक फिरोज बस्नेतको कमाण्डमा गएको टोलीले ती डाक्टरको योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा चितवनवाट ३ जना र पर्सा जिल्लाको बीरगञ्जवाट ९ जना गरेर १२ जना डाक्टरहरुलाई पक्राउ गरेको सिआइबीले जनाएको छ।Doctor (1)पक्राउ पर्ने डाक्टरमा चितवनका रजनी अग्रवाल, सुनिल आचार्य र राजन पुरी रहेको प्रहरीले जनाएको छ। अग्रवाल र आचार्य भरतपुरको प्रगति पोलि क्लिनिकबाट र पुरीलाई गोरखाको पालुङटारमा स्वास्थ्य शिविर गर्दै गरेको अबस्थामा टोलीले पक्राउ गरेको हो। खैरहनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख रहेका आचार्य एक महिना अघि ९ औं तहमा बढुवा भई मन्त्रालय सरुवा भएको जनस्वास्थ्य जनाएको छ। उनी स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत थिए भने अग्रवाल कलेज अफ मेडिलक साइन्सेसमा छाला रोग विशेष रुपमा कार्यरत थिईन। उनीहरुलाई पक्रन ब्यूरोको टोलीलाई जिल्ला प्रहरीले सहयोग गरेको थियो।

वीरगन्जमा पक्राउ परेकाहरुमा रौतहट तेजापाकड घर भई हाल नेशनल मेडिकल कलेज वीरगन्जमा कार्यरत चिकित्सक मोहम्मद रैफुल्लाह (नेपाल मेडिकल काउन्सिल दर्ता नं २५१७), पर्सा बगही ९ घर भई नारायणी उपक्षेत्रिय अस्पतालमा कार्यरत चिकित्सक कुशराज गिरी (नेमका दर्ता नं ३११६), कलैया ४ घर भई हाल नेशनल मेडिकल कलेजमा कार्यरत चिकित्सक रामकुमार प्रधान (नेमका दर्ता नं ४०१४), रौतहट सखुअवा ३ घर भई हाल नेशनल मेडिकल कलेजमा कार्यरत चिकित्सक निमेशपाल राम (नेमका दर्ता नं ११४६३), वीरगन्ज २ घर भई नेशनल मेडिकल कलेजमा कार्यरत चिकित्सक इश्रादुल (नेमेका दर्ता नं १५४९७) छन्।

पक्राउ पर्ने अन्यमा रौतहट तेजापाकड घर भई नारायणी उपक्षेत्रिय अस्पतालमा कार्यरत चिकित्सक सरोज सिंह (नेमका दर्ता नं ६९९१), वीरगन्ज १ छपकैया घर भई यहा निजि क्लिनिक सञ्चालन गरेका चिकित्सक दिनेशकुमार साह(नेमका दर्ता न ४९५७), पर्सा भवानीपुर ४ घर भएका नारायणी उपक्षेत्रिय अस्पतालमा कार्यरत चिकित्सक पन्नालाल पटेल (नेमेका दर्ता नं ५३९५) र राजधानीस्थित नर्भिक अस्पतालमा कार्यरत रही महिनामा एक दिन वीरगन्जस्थित क्लिनिकमा आउने गरेका चिकित्सक अरुणकुमार गुप्ता (नेमका दर्ता नं २७५७)रहेका छन्।

बिहान करिव १० बजे देखि सिआइबी टोलीले उनीहरुलाई अस्पताल तथा निजी क्लिनिहरुबाटै पक्राउ गरेको थियो। टोलीले पक्राउ गर्नका कारण कसैलाई बताएको छैन्। श्रोतका अनसार शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र प्रयोगको आशंकामा उनीहरुलाई पक्राउ गरीएको हो। उनीहरुलाई दिउँसो ३ बजे चितवन हुँदै टोलीले बसमा राखी काठमाडौ ल्याइएको छ।
प्रकाशन मिति–२०७३ साल असार ३ गते शुक्रबार ।