नवलपरासी। बडा दशैंको माहोलमा नक्कली नोट छाप्ने गिरोह काठमाडौंमा सक्रिय रहेको पाइएको छ। उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ।

त्यसरी छापेर बजारमा पुर्याउनेको माध्यमवाट नक्कली नोट छाप्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ। नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने विभिन्न सामग्रीसहित कीर्तिपुर नगरपालिका ४ स्थित मच्छेगाउँबाट शनिबार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कीर्तिपुर ४ मच्छेगाउँ डेरा गरी बस्ने पर्सा पर्सागढी ३ का २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ, गोरखा शहिद लखन गाउँपालिका ८ का २५ वर्षीय नारायण श्रेष्ठ, काठमाडौं मुलपानी बस्ने मकवानपुर हर्नामाडी ९ का २५ वर्षीय साहिल थापामगर, काठमाडौं वौद्ध जोरपाटी बस्ने पर्सा विरुवागुठी ३ का २८ वर्षीय राज श्रेष्ठ र काठमाडौं कुमारीगाल बस्ने कागेश्वरी मनहरा ११ का २९ वर्षीय विकास दोचे रहेका छन्।

उनीहरुबाट नक्कली नोट ३ लाख ७० हजार रुपैयाँ, पैसा छाप्ने मेसिन १ थान, सोको मसी २ वट्टा, पैसा छाप्न प्रयोग हुने पेपर २ वण्डल, मोबाइल ४ थान, लालिगुँरास अंकित रबर छाप, नक्कली पैसा बनाउने प्रयोग भएका सक्कली १ हजारका नोट ३ थान र १ सयका नोट ३ थान, पैसा बण्डल बनाउन प्रयोग गरिने गोर्खा फाइनान्सको ट्याग १२ थान र एनआईसी एशिया बैंकको नक्कली चेक समेत प्रहरीले बरामद गरेको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक ४ गते आइतवार ।