काठमाडौं। पर्यटन मन्त्रालयले केही निजी प्रयोगशालाले नक्कली रिपोर्ट दिने गरेको भेटिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छानबिनको अनुरोध गर्दै कात्तिक २८ गते पत्र लेखेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नक्कली पीसीआर रिपोर्ट प्रकरण छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका डा. मुकुन्द शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण, महाशाखा, टेकुका डा.अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ल्याब विज्ञ बलराम गौतम सदस्य रहेका छन् । मन्त्रालयले समितिलाई २४ घण्टाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
पर्यटन मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालाले स्वाब नै संकलन नगरी कोरोनाको नक्कली रिपोर्ट दिने गरेको, स्वाब संकलनपछि रिपोर्ट हेरफेर गरेर पोजेटिभ रिपोर्ट दिने गरेको र स्वाब संकलनपछि निर्धारित समय भण्डारण गर्नुपर्नेमा त्यसो नगरेको भन्दै छानबिनका लागि माग गरेको थियो।

पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा नेपालबाट हङकङ र संयुक्त अरव इमिरेट्स (युएई) पुगेका केही व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालको परीक्षणमा प्रश्न उठेको जनाएको छ।  नेपालमा कोरोना परीक्षणको लागि स्वीकृत पाएका केही प्रयोगशालाले गरेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको र विदेशमा पुगेपछि गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको पत्रका उल्लेख छ।

नेपाल वायुसेवा निगमका हरेक नियमित उडानमा नेपाल सरकारबाट स्वीकृत प्राप्त प्रयोगशालामा परीक्षण गरेर नेगेटिभ रिपोर्ट साथमा लिएर गएका यात्रुमध्ये केहीको रिपोर्ट पोजेटिभ आएपछि हङकङले नेपालबाट हुने अवतरण २५ नोभेम्बरसम्म स्थगित गरेको छ’, पर्यटन मन्त्रालयको पत्रमा भनिएको छ ।

पर्यटन मन्त्रालयका अनुसार २ अक्टोबरमा हङकङ गएका ५ तथा १९ अक्टोबरमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो। यस्तै निगमको काठमाडौं–नारिता नियमित उडानबाट यात्रा गरेका यात्रुको पुनःपरीक्षण गर्दा हरेक उडानमा कम्तिमा २ देखि १० जनाको रिपोर्ट पोजेटिभ आएको पाइएको छ। सीडीएल ल्याब, सूर्य हेल्थ केयर, स्टार अस्पताल र ह्याम्स अस्पतालले दिएको रिपोर्टमा बदमासी भएको भन्दै मन्त्रालयले अनुसन्धानको माग गरेको हो।
प्रकाशन मिति–२०७७ साल मंसीर ४ गते विहीवार ।