काठमाडौं। गएराति ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट भएलगत्तै रुपन्देही र कञ्चनपुर जिल्लामा रहेका एनसेल टावरमा आगजनी भएको हो।

रुपन्देहीको गैडहवा नगरपालिका–३ सुर्यपुरामा रहेको एनसेल टावरमा आगजनी भएको हो। राती १०-११ बजेको समयमा एनसेलको कनेक्सन तोडेर अज्ञात समूहले आगजनी गरेको हो। आगजनीबाट झण्डै ४ लाख बराबरको क्षती भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। दमकल नआएपछि प्रहरीले करेन्टको समेत पर्वाह नमानी आगो निभाएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए।

यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि गएराति आगजनी भएको छ। टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरेको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।
प्रकाशन मिति–२०७५ साल फागुन ११ गते शनिवार ।