ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर २४ का वडा अध्यक्ष दिनेश कार्की नबोलिकन काम गर्ने निर्वाचित जनप्रतिनिधिको रुपमा चिनिन्छ।

ललितपुर महानगरपालिका वडा नंबर २४ गाविसवाट विकसित नयाँ वडा भएको कारण पनि वडा अध्यक्ष कार्कीलाई विकास निर्माणका कार्यमा धेरै चुनौति रहेको छ।

ती चुनौतिका पहाडलाई पनि सहज ढंगवाट कार्य सम्पादन गर्न सिपालु वडा अध्यक्ष कार्कीसंग नामी साप्ताहिकका निर्देशक निशान बुढाथोकीले लिनुभएको विशेष अन्तरवार्ताको सार–संक्षेप यहाँ प्रस्तुत छ ।

यहाँको करिब ५ वर्षको कार्यकाल सकिन लागेको छ, पक्कै पनि विभिन्न खालका योजनाहरु अघि सारेर निर्वाचित हुनुभएको थियो, यसरी समुदायलाई जुन प्रतिबद्धता व्यक्त गरेर निर्वाचित हुनु भयो, ती योजनाहरु कति हदसम्म पूरा भएको अनुभव गर्नु भएको छ ?
–केही योजनाहरु पुरा हुन बाँकी छ । मुख्य काम भनेको सडक चौडा गर्ने काम शुरुवात भएको छ । क्षतिपूर्तिका कारण रोकिएको सडकको काम अहिले पुनः सुचारु भएको छ । खानेपानी वितरणमा समस्या भएर बोरिङ गर्ने काम भएको छ, भने शिक्षा र स्वास्थ्यका काम सम्पन्न भएको छ ।

वडाले गर्ने काम भनेको ढल व्यवस्थापन पनि हो ढल निर्माणको काम कहाँनिर पुग्यो ?
–हुन त निर्वाचन गर्ने समयमा ढल निर्माणको काम योजनामा थिएन, यहाँका जनताको मुख्य समस्या मध्ये ढल निर्माण पनि एक हो । त्यसै कारण हामीले यसलाई पनि मुख्य समस्याका रुपमा राखेका छौं । ढलको डि पि आर सम्पन्न भएको छ ।

जति विकास निर्माणका कुराहरु यहाँले अघि सार्नु भएको थियो, जुन उपलब्धीहरु हासिल भएको छ , त्यसप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
–आफ्नो काम प्रति सन्तुष्ट नहुने त कुरै भएन । तर, जति सन्तुष्ट हुनुपर्ने हो– त्यति चाँहि भएको छैन् । नयाँ वडा भएको हुनाले भौतिक पूर्वाधारको कुरा धेरै छन्। गर्न चाहेर पनि कतिपय कतिपय काम गर्न नसकिएको अवस्था छ । जनताको चाहना कस्तो हुन्छ भने अहिले नै गर्नु पर्छ तुरुन्तै हुन पर्छ भन्ने छ। एकै ठाउँमा बजेट खर्च गर्न सकिदैन र गर्न पनि हुँदेैन । काम धेरै भएको छ तर, देखिएको छैन ।

आफ्नो कार्यकालको जति अवधि छ । अब यो अवधिमा कस्ता विकासका मुद्दाहरु प्राथमिकतामा राखेर अघि बढ्नु भएको छ ?
–हामीले अबको योजनामा शिक्षा र स्वास्थ्यलाई जोड दिदै भौतिक पूर्वाधार, चौडा बाटो निर्माण, त्यसै गरी हाम्रो जमिन भनेको भूक्षय बढी हुने खालको छ। त्यसलाई प्राथमिकता दिएर काम गर्ने योजना छ ।

अब कार्यकाल सकिएपछि फेरि यहाँको विचार के छ ? यही पदमा उठ्ने कि के गर्ने ? फेरि आफू निर्वाचित हुन के जनताको मन जिते जस्तो लाग्छ ?
–जनताले के भन्छन् , जनताको कुरा हो, पार्टीको कुरा हो । तर, सेवामा निरन्तर रुपमा लागिरहन्छु । पार्टी र जनताको निर्णय नै हामी आत्मसाथ गछौं । अब निर्वाचित भएर जनताको मन जित्ने कुरा चाहिँ के हो भने दुईवटा मुख्य काम एउटा जनतालाई सेवा दिने र अर्को विकास निर्माणको काम हो । हामीले वडामा जनतालाई कुनै पनि सेवामा कन्जुस्याई गरेका छैनौं । जनतालाई निरास पनि बनाएका छैनौं। मेरो विचारमा जनता बेखुशी छैनन् ।

ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिको संयोजक पनि हुनुहुन्छ । यस अन्तर्गत यहाँले कस्तो काम गर्नु भएको छ र सुधारका प्रयासहरु के के हुन् ?
–विशेषगरी सामाजिक विकास समितिमा संयोजकको नाताले हामीले महिला समूहहरुलाई सिपमूलक तालिम दिने, व्यवसायिक प्रर्वद्धनमा जोड दिदै उहाँहरुले उत्पादन गरेका चिजहरुलाई प्रचार प्रसारमा जोड दिने, त्यसै गरी शिक्षाको हकमा सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर कसरी वृद्धि हुन सक्छ, त्यसमा जनप्रतिनिधि कसरी जोडिन सक्छन्, जनप्रतिनिधि र सामुदायिक बिद्यालय जोडिएपछि सामुदायिक बिद्यालयमा गुणस्तर शिक्षा दिन सकिन्छ भन्ने विषयमा विशेष जोड दिएका छौ। त्यसपछि स्वास्थ्यको कुरा आउँछ । स्वस्थ नभइकन हामी केही पनि काम गर्न सक्दैनौं। वडा वडामा स्वास्थ्य कार्यालय समिति मोबिलाईज गरी काम गर्दै आइरहेका छौ।

सामाजिक विकास समिति अन्र्तगत महिला तथा बालबालिका सम्बन्धि काम गर्ने हो । महिलाहरुलाई सिपमूलक तालिम दिने हो भन्नुभयो विशेष गरी महिलालाई कस्ता खालका तालिम दिने कार्य भैरहेको छ ?
–महिलाहरुकै आग्रह अनुसार तालिमहरु दिदै आइरहेको छ । बेसिक र एडभान्स गरी दुई थरीको तालिममा आय मूलक जस्तैअचार बनाउने, जुत्ता बनाउने, सिलाई बुनाई, बेकरी लगायत थुप्रै तालिमहरु दिइन्छ । हामी तालिम दिने मात्र होइन अनुगमन पनि गछौं । तालिम लिएका मध्ये २५ प्रतिशतले मात्र काम गरिरहनु भएको छ, बाँकीले गर्न नसक्नुको कारण उहाँहरुले उत्पादन गरेको सामान बजार सम्म पु-याउन नसक्नु हो, त्यसैले उत्पादन गरेको सामान बजारसम्म पु-याउने व्यवस्था गर्दैछौं ।

यस्तो सिप भएर पनि अघि बढ्न नसकेका महिलाहरुलाई ऋणको व्यवस्था गर्नु भएको छ ? लक्षित महिलासम्म पुगेको छ त ?
–प्रत्येक वडामा पाँच लाख ऋणको व्यवस्था गरिएको छ । दुई वर्षमा चुक्ता गर्ने व्यवस्था गरेका छौं । प्रत्येक वडाले जानकारी गराएर लक्षित दिदी बहिनीले ऋण लिएर पनि जानु भएको छ ।

यस्तो खालको काम गरिरहँदा चुनौति पनि धेरै हुन सक्छन्, यसको सामना र समाधान कसरी गर्नु भएको छ ?
चुनौती हरेक काममा हुन्छन् । धेरै वर्ष सम्म स्थानिय निर्वाचन नहुँदा मान्छेहरुमा बढी स्वतन्त्रता भयो । जसले गर्दा मानिसहरु सबै बिज्ञ भए । सबै जान्ने भए, यसको मतलब तँ भन्दा म जान्ने छु भन्ने भावनाको विकास भयो । राम्रो काम गर्ने जनप्रतिनिधिलाई पनि अप्ठ्यारो अवस्था आयो । सोचे अनुरुपको काम गर्न सकिएन । चुनौतीको कुरामा जहाँ जस्तो चुनौती आउँछ। चुनौतीको अध्ययन गरेर त्यही अनुरुप समाधान गर्दै जान्छौ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल साउन ४ गते सोमवार ।