काठमाडौ। नयाँ किताव किनेर पुरानो कोट लाउने नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज ११०औँ जन्मजयन्ती। आज लक्ष्मीपूजाकै दिन महाकवि देवकोटाको जन्म भएको कारण लक्ष्मीप्रसाद देवकोटा नाम राखिएको हो।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । देवकोटाका नेपाली साहित्यलाई सयभन्दा बढी कृति रहेका छन्।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो। नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ।

विसं २०१६ मा महाकवि देवकोटा नेपालको शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गरेका थिए। वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिने कार्य देवकोटावाटै भएको अविस्मरणीय देन हो ।

तीन महीनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो। देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ।

चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु देवकोटाको साहित्यिक विशेषता हो।
प्रकाशन मिति–२०७५ साल कात्तिक २१ गते बुधवार ।