काठमाडौ। २५ बर्षभित्र समृद्ध नेपाल बनाउने अठोट तथा निर्णयका साथ नयाँ शक्ति नेपाल नामक पार्टीको पार्टीका संयोजक डा.बाबुराम भट्टराईले घोषणा गरेका छन्.। डा.भट्टराईले आफ्नो पार्टीले आर्थिक समृद्धिमा जोड दिएको बताउंदै आफूले जे बोल्छु–त्यो पूरा गरेर देखाउनेछु भनेर अठोट समेत उनले गरेका छन्। 

Naya Shakti Baburam 1गोरखामा जन्मेको सामान्य किसानको छोरो प्रधानमन्त्री पदमा पुगिसकेकाले अब आफूलाई थप पाउन केही बाँकी नरहेकाले युवा पुस्ताका लागि सबै योगदान गर्न तयार रहेको उनको भनाइ थियो। ‘आर्किटेक्ट हुँ । धेरैका घर बनाएको छु । आजसम्म आफ्नो घरचाहिँ बनाएको छैन, हरेक नेपालीको घर बन्ने दिन नआउँदासम्म बाबुरामले निजी सम्पत्ति र घर जोड्ने छैन,’ उनले माहोललाई आफूतिर खिचे, ‘मेरी छोरी यही देशमा बसून् । म बूढो हुँदा विदेशिएका छोराछोरीको मुख हेर्न नपाउने दिन देख्नु नपरोस्। समृद्ध नेपालका लागि यो मेरो भीष्म प्रतिज्ञा भयो ।’

Naya Shakti Baburam

भट्टराईले १० वर्षको सशस्त्र युद्धका बेला धेरै घाउचोट लागे पनि अब त्यो इतिहासलाई छाडिदिएको बताए। उनले माफीका शब्द उच्चारण गरेनन्, युद्धका विषय सत्य निरूपण तथा मेलमिलाप आयोगले निरूपण गर्ने, आफूलाई त्यसको निर्णय मान्य हुने बताए। नयाँ शक्ति घोषणा सभामा भाग लिन रंगशाला आएका कार्यकर्ता समर्थकलाई संयोजक भट्टराईले नौबुँदे शपथ ग्रहण गराए । शपथ ग्रहणको व्यहोरामा हरेक कार्यकर्ताले नयाँ शक्तिको सदस्य भएकामा गर्व गर्ने, लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपना पूरा गर्न वचनबद्ध हुने, आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्नेलगायत बुँदा छन्।

Baburam-Bhattaraiखुला मैदानमा सामूहिक शपथग्रहणलगत्तै सेता र राता रंगका बेलुन आकाशमा उडाइएको थियो । गायक रामकृष्ण ढकाल, ब्ल्यु डाइमन्ड सोसाइटीलगायत विभिन्न समूहका कलाकारले गीत/नृत्य प्रस्तुत गरेका थिए । नयाँ शक्ति नेतृ करिश्मा मानन्धर र नेता पासाङ शेर्पाले पालैपालो उद्घोषण गरेको कार्यक्रममा नेताहरू रामचन्द्र झा, परशुराम तामाङले बोलेका थिए । राष्ट्रिय गीतहरू र नयाँ शक्तिको गीत नृत्य कार्यक्रमका बीच–बीचमा बजिरहे । समारोहको झाँकीलाई आयोजकले ड्रोन उडाएर तस्बिरमा कैद गरेका थिए।

यसैवीच अवेर भएपनि नयाँ शक्ति नेपालको घोषणा सभामा अपरान्ह भएपनि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शक्तिले एमाले बाहेक सवै पार्टीलाई धक्का दिन सक्छ भन्ने उदघोष गरेर नयाँ शक्ति नेपालका संयोजक डा.भट्टराईलाई हौसला, ऊर्जा दिनुको अलावा घोचपेच गर्ने कार्य पनि गरे। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा लगायतका नेताहरु घोषणा सभामा आएतापनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने अनुपस्थित देखिए।
प्रकाशन मिति–२०७३ साल जेठ ३० गते आइतवार ।