rashifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नयाँ वर्षले मिश्रित परिणामहरू प्रदान गर्ने योजना बनाएको छ, तीमध्ये कुनै लाभकारी हुन्छन् भने कुनै हानिप्रद । पारिवारिक दायित्व र जिम्मेबारी पूर्ण गर्ने सिलसिलामा केही कठिनाइ आइलाग्न सक्छन्, तर अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन, प्रयास गर्दा परिस्थितिलाई सम्हाल्न सकिन्छ । आर्थिक दृष्टिले यो वर्ष लाभदायक र आशावादी परिणाम प्राप्त हुने सम्भावना छ, यद्यपि नयाँ लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो हुनसक्छ । बन्दव्यापारमा नयाँ निवेश र लगानीका लागि उपयुक्त समय छैन, तर गरिआएको कारोबारबाट लाभ नै हुनेछ । उता अनावश्यक खर्चमा पनि नियन्त्रण गर्नु पर्छ । वित्तीय कारोबार र सेयर मार्केट पक्षमा रहने देखिंदैन । घरायसी सम्बन्ध विस्तारका लागि समय निकाल्नु राम्रो हुन्छ, प्रेम र स्नेहको वातावरण बनाउनु पर्दछ । यो वर्ष प्रेम र भावनाको कदर हुने वर्ष हो । पति वा पत्नीका साथमा धेरै समय खर्चनु राम्रो हुन्छ, नत्र आपसी समन्वयको अभावमा अनपेक्षित दुर्घटना हुने सङ्केत छ । अगस्ट महिनापछि बृहस्पति छैठौं हुने भएकाले केही नकारात्मकता देखा पर्न सक्छ, त्यसपछि वर्षभरि सतर्कता अपनाउनु पर्छ । समग्रमा मेष राशिका जातकले समुज्वल भविष्यका निमित्त वर्षको पूर्वार्द्धमा खट्नु नै परिणामदायक देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बृष राशिका जातकका लागि नयाँ वर्ष पूर्ण रूपले आफ्नो पक्षमा रहने छ । सँगीसाथी, सहयोगी र पति÷पत्नीको सहयोग र प्रेरणाले व्यापार÷व्यवसाय र दैनन्दिनीको क्षेत्रमा सघाउ पुुग्नेछ । यस प्रेरणाले कुनै कठिन र अप्ठ्यारो परिस्थितिबाट बाहिर निस्कन वा ती परिस्थितिको सामना गर्न मद्दत गर्नेछ । दाम्पत्य जीवन, रतिराग, प्रेम÷प्रणयसम्बन्ध आदि क्षेत्रमा भरपूर आनन्द प्राप्त हुनेछ । जसले नयाँ व्यवसाय वा नोकरी थाल्नुभएको छ, तिनलाई वर्षको पूर्वार्द्धमा केही कठिनाइ हुनसक्छ, तर वर्षको उत्तरार्द्ध भने अनुकूल नै हुनेछ । यो वर्ष रिस, राग, आवेश, उत्तेजना र कामुकतामा नियन्त्रण राख्नुपर्ने वर्ष हो, अन्यथा बेकारको झन्झटमा फँस्न सक्नुहुन्छ । आर्थिक दृष्टिले यो वर्षको सम्पूर्ण समय आफ्नै पक्षमा रहने छ । आफूले गरेको मिहिनेतको राम्रो परिणाम प्राप्त हुने वर्ष हो, यो । पाँचौं राहुले पाचनप्रणाली र नसाको रोग बल्झाउने सम्भावना छ, छोराछोरीको क्रियाकलाप पनि सन्तोषजनक रहने छैनन् । उता सातौं शनिश्चरले दाम्पत्यकलहको सम्भावना औंल्याउँदै छ, सचेत रहनु होला । समग्रमा नयाँ वर्ष २०७३ लागि खुसी, उमङ्ग र हर्ष लिएर आएको छ, तर मात्तिनु र पात्तिनु हुन्न, नत्र यो वर्ष सङ्कटको वर्ष पनि बन्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भनिन्छ जीवनको अर्को नाम संघर्ष हो, मिथुन राशिका जातकका लागि यो वर्ष यिनै पंक्तिले बताएका कुरा लागु हुनेछन् । वर्षको केही समय कठिनाइको सामना गर्नुपर्छ भने अर्कोतर्फ कुनै पल यति महत्त्वपूर्ण बन्नेछन्, जुन सधैंसधैं स्मरणयोग्य हुनेछन् । दाम्पत्यसम्बन्धमा सुमधुरता कायम हुनेछ, तर समग्र पारिवारिक स्थिति भने सन्तोषजनक हुँदैन । त्यसैले यस वर्ष जीवनसाथीलगायत घरपरिवारका अन्य सदस्यहरूसित पनि तालमेल बनाउनु आवश्यक छ । स्वास्थ्यमा केही उतारचढाव देखा पर्नेछ, नियमित व्यायाम र संतुलित आहारप्रति सजग हुनुपर्छ । कुनै किसिमको ऋण लिनु वा दिनु राम्रो हुँदैन । आयमा कमी आउने सम्भावना छ, अतः जतिसक्दो खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ । उता बन्दव्यापारमा लागेका हरूले राम्रो मुनाफा कमाउने छन्, तर कुनै अवैध वा गैरकानुनी मानिने वस्तुप्रतिको आकर्षणले धोका दिनसक्छ । यो वर्ष आफ्ना प्रियतमसँग बितेको समय पछिसम्म यादगार रहन सक्छ । भ्रमण, पर्यटन र घुमघाममा समय र धन खर्च हुने सङ्केत छ । सरकारी कामकाज र राज्यपक्षका काममा सफलता हासिल हुनेछ । वैदेशिक रोजगारीबाट लाभ लिन सकिने छ । केही छिटपुट विषयलाई नलिने हो भने समग्रमा यो वर्ष निमित्त राम्रो र असल वर्ष साबित हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भनिन्छ प्रयास गर्नेले कहिल्यै हार मान्नु पर्दैन । कर्कट राशिका जातकका लागि याे बर्ष थोरै कठिनाइ र झन्झट लिएर उपस्थित भएको देखिए पनि लगनशीलता, मिहिनेत र परिश्रमका बलमा तिनले जीवनका विविध आयाममा सफलता प्राप्त गर्न सक्नेछन् । दाम्पत्यसम्बन्धमा सुधार हुनेछ र निजी जीवनको भरपूर आनन्द प्राप्त हुनेछ । अलिबढी अन्तर्मुखी र व्यक्तिवादी हुने भय भएकाले घरपरिवारका सबै सदस्यसित सामञ्जस्य स्थापना गरी व्यवहार गर्नु राम्रो हुन्छ । स्वास्थ्यप्रति ध्यान दिनुपर्छ । आर्थिक दृष्टिले यो समय सुझबुझ र समझदारीमा निर्भर रहने समय हो । जोसुकैसित आँखा चिम्लिएर विश्वास गर्नु लाभकारी हुन्न, सञ्चित धन नाश हुने खतरा छ । बन्दव्यापारमा साझेदारप्रति सशङ्कित हुनुपर्छ, तपाईंविरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ । नोकरीमा संलग्न व्यक्तिहरूले उन्नतिका निमित्त प्रशस्त अवसर प्राप्त गर्नेछन् र नवीन पेसा वा रोजगारीको राम्रो अवसर प्राप्त हुनेछ । अविवाहित हुनुहुन्छ भने कुनै विशेष व्यक्तिप्रति प्रेम जागृत हुनसक्छ तथा विवाहित हुनुहुन्छ भने दाम्पत्यसम्बन्धमा प्रगाढता आउने छ । दाजुभाइ र माइतीपक्षबाट सुखद समाचार प्राप्त हुने सम्भावना छ । वर्षको सुरुमा रहेको चौथो मङ्गलले मातापिता र अभिभावकवर्गको स्वास्थ्यप्रति सचेत रहने सङ्केत गर्दछ । समग्रमा सुझबुझ र मिहिनेतको बलले आफ्नो पक्षमा ल्याउन सकिने वर्षको सुरुवात भएको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ वर्षले केही विशेष उपहारहरू साथमा लिएर सिंह राशिका जातकहरूलाई स्वागत गर्दैछ । जीवनका विविध आयाम र क्षेत्रबाट खुसी र प्रसन्नताका लक्षणहरू प्राप्त हुनेछन् । पारिवारिक सम्बन्ध र मित्रताको भरपूर आनन्द प्राप्त हुनेछ । निजी जीवनमा खुसीको वर्षा हुनेछ र जीवनसाथीले भरपूर सहयोग प्रदान गर्नेछन् । सामान्यतया स्वास्थ्यस्थिति सकारात्मक नै रहने छ, तर चिल्लोचापिल्लो, मिठाइ र माछामासु जस्ता गरिष्ठ आहार र मदिरापानबाट जोगिनु राम्रो हुन्छ । नत्र रोगव्याधिले सताउन सक्छ । उता राहुले मुखमा निवास गरेको हुँदा मुखलाई नियन्त्रणमा लिनु राम्रो हुन्छ, कहिलेकाँही आफ्नै मुखका कारण बन्न लागेको काम पनि बिग्रिने सम्भावना अत्यधिक छ । आर्थिक पक्ष सन्तुलित नै रहने छ, मूलधनमा निरन्तर बृद्धि भइ रहने छ । पेसा, व्यवसाय र बन्दव्यापार गर्नेका लागि पनि लाभप्रद समय छ । कार्यक्षेत्रमा साख यथावत रहने छ, हाकिमले कामधन्दा र प्रयासको प्रशंसा गर्नेछन् र यश, सम्मान र जस पाउनुका साथै पुरस्कार समेत प्राप्त हुनेछ। प्रेमसम्बन्धका साथै दाम्पत्य सुखको भरपूर आनन्द प्राप्त हुनेछ । वर्षको पूर्वार्द्धमा अविवाहितको विवाह, बेरोजारको रोजगारी, बेकामेले काम पाउने ग्यारेन्टी दिन सकिन्छ, तर वर्षको उत्तरार्द्धमा बृहस्पति आठौं भावमा जाने भएकाले बढी आशावादी हुनु राम्रो हुँदैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ वर्षले मिश्रित प्रभाव पार्ने सङ्केत छ । वर्षको सुरुमा केही नकारात्मक र तनावग्रस्त परिस्थितिको सिर्जना हुनसक्छ, तर उत्तरार्द्ध भने प्रतिष्ठा अभिबृद्धि गर्ने समय रहने छ । सुरुमा प्रेमी वा जीवनसाथीसितको सम्बन्धमा तिक्तता आउनसक्छ, अन्य परिवारजनसित समेत विवाद हुनसक्छ । क्रोध र अहङ्कारलाई त्यागेको बेस हुनेछ । यस अवधिमा आफ्नो स्वास्थ्यप्रति समेत सचेत रहनुपर्छ । राशिमा विचरणशील राहुले किसिमकिसिमका समस्या प्रदान गर्नेछ । वर्षको सुरुमा राशिस्वामी बक्री भएकाले सफलता प्राप्तिमा ढिलाइ हुनसक्छ, तर दूरदराज वा वैदेशिक प्रयोजनका रोजगारी वा बन्दव्यापारबाट लाभ मिल्नेछ । त्यस्तै बृहस्पति बाह्रौं घरमा अवस्थित छ, जसले आर्थिक सङ्कटको सङ्केत गर्दैछ, तर अगस्टदेखि आफ्नै राशिमा बृहस्पति आउनाले हाँकेका, ताकेका र इच्छाएका परिणाम प्राप्त हुनेछन्, त्यसैले वर्षको उत्तरार्द्धमा बेरोजगारले रोजगारी, अविवाहितले दाम्पत्यसुख, बृद्धबृद्धाले तीर्थाटनको लाभ र बेकामेले काम पाउने सङ्केत छ । बन्दव्यापारमा लागेका व्यक्तिले अगस्टभन्दा पहिले निकै तनाव झेल्नुपर्छ । तर त्यसपछि वर्षको सुरुमा देखिएका कमीकमजोरी र घाटालाई पूर्ति गरी उन्नति गर्ने अनुकूलता आउने छ । समग्रमा कन्या राशिका जातकका लागि वर्षको सुरु आफ्नो पक्षमा नरहे पनि वर्षको अन्तिम चरणले खुसी, उमङ्ग र उत्साह सिर्जना गर्ने सङ्केत देखिंदैछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ वर्ष महत्त्वाकांक्षा पूर्ण गर्ने अवसरका रूपमा आएको छ । स्वतन्त्र व्यवसाय गर्ने एवं सानो परिवारमा बस्ने तुला राशिका जातकले यो वर्ष राम्रै उपलब्धी हासिल गर्नु हुन्छ । तर ठूलो साझेदारीमा कारोबार गर्न र संयुक्त परिवारका दायित्व निर्वाह गर्न भने यो वर्ष कष्टकर हुने सङ्केत छ । त्यसैले ठूलो साझेदारीमा काम गर्दै हुनुहुन्छ वा संयुक्त परिवारमा बस्नुहुन्छ भने यो वर्ष निकै सावधान हुनुपर्छ । सन्ततिपक्षका समस्यामा केही समय खट्नु पर्नेछ । नोकरी र बन्दव्यापारमा लागेकाहरूले वर्षकोे प्रारम्भमा गरेको प्रयासबाट राम्रो लाभ लिन सक्नुहुन्छ । अगस्टपछि बृहस्पति बाह्रौंमा जाने भएकाले परिस्थिति प्रतिकूल बन्नसक्छ । शनिको साढेसातीको अन्तिम चरणमा रहनु भएकाले मुखलाई नियन्त्रण गर्नु राम्रो हुन्छ, झैझगडा र मुद्दामामिलामा सरिक हुने स्थिति आउनसक्छ । पुराना रिनसापटी चुक्ता गर्न वर्षको उत्तरार्द्धमा झन् गाह्रो हुने भएकाले सुरुको ७ महिनाभित्रै प्रयास गरेको जाति हुन्छ । प्रेम र प्रणयप्रसङ्गमा शुभ सङ्केत छ, प्रियतमसित नै लामो समय व्यतीत हुनेछ, आपसी समन्वयको कमी रहने छ । शारीरिक सुख र स्वास्थ्यस्थितिमा सुधार आउने छ, वर्षको अन्त्यमा धार्मिक, सामाजिक र माङ्गलिक काममा धन खर्च हुने सम्भावना छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बृश्चिक राशि हुने जातकका लागि नयाँ वर्ष व्यापक रूपमा अनुकूल हुने सङ्केत छ, तर धैर्यता, संयमता र अनुशासनको पालना गर्नु अनिवार्य छ । जीवनसाथीसित कहिलेकाँही उथलपुथल र तीतोमीठो हुनसक्छ, त्यसैले सामञ्जस्य स्थापनाका लागि परिस्थिति विपक्षमा रहेको अनुभूति हुनासाथ धैर्य र हिम्मतका साथमा अघि बढ्नु राम्रो हुनेछ । त्यसो घरपरिवारमा अभिभावक वर्ग एवं मातापिताको सहयोग प्राप्त हुनेछ । बरु सन्ततिपक्षमा केही समस्या देखिनसक्छन्, पठनपाठन र सुस्वास्थ्यका लागि धनलगानी गर्नुपर्छ । अल्छीपन र आलस्यले डेरा जमाउन सक्छ, बन्दव्यापार र नोकरीका क्षेत्रमा उत्साह र स्फूर्तिको कमीले काम बिग्रने सम्भावना छ । व्यापारीहरूले अगस्टभन्दा पहिले धननिवेश गर्नु त्यत्ति राम्रो हुँदैन, तर त्यसपछि राज्यस्थानमा बृहस्पति जाने भएकाले पूँजी निवेश र लगानीको राम्रो वातावरण प्राप्त हुनेछ । उता शनिश्चर तपाईंको राशिमा छ, त्यसैले ज्यादा महत्त्वाकांक्षा देखाउनु पनि राम्रो हुन्न । कार्यक्षेत्र, घरपरिवार र आन्तरिक समस्यामा धेरै समय व्यतीत हुनाले उन्नतिप्रगतिमा बाधा पुग्नसक्छ । घरायसी जीवन र प्रेम तथा प्रणयप्रसङ्गमा धैर्यता र संयमताको खाँचो छ, फकाउने फुल्याउने काममा धेरै अल्मलिनु पर्ने सङ्केत छ । जोखिमयुक्त र गैरकानुनी कामभन्दा टाढा बसेको नै जाति हुन्छ, नत्र ठूलो षड्यन्त्रमा समेत फँस्न सक्नुहुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नववर्ष को सम्पूर्ण समय धनु राशिका जातकका लागि मिश्रित परिणाम प्राप्त हुने समय हो । राशिपति बृहस्पतिले वर्षभरि भाग्यभाव र कर्मक्षेत्रमा विचरण गर्दैछ । बाह्रौं शनिश्चर भएकाले स्वास्थ्यसम्बद्ध केही समस्या देखिन सक्छन्, साथै बन्दव्यापार र कारोबारमा आर्थिक कठिनाइ हुनसक्छ, तर अत्तालिनु पर्दैन । करकुटुम्ब र साथीसँगीसित विवाद र मनमुटावको सङ्केत छ, सचेत रहनु होला । घरवरिपरिको पर्यावरण र खाद्यान्नको सरसफाइ एवं ताजगीप्रति सचेत हुनु राम्रो हुन्छ, यो वर्ष पाचनप्रणाली र संक्रमणका कारण रोगग्रस्त हुने सम्भावना छ । नवीन पेसा वा रोजगारीका लागि गरेको प्रयास सफल हुनेछ । देशपरदेशको भ्रमणबाट लाभ नै हुनेछ । कार्यरत कर्मचारीको पदोन्नति र तलबसुविधामा बृद्धि हुने सम्भावना छ । बन्दव्यापारमा राम्रै छ, तर धोखाधडी र जालसाजीबाट जोगिनु पर्छ । आर्थिक हैसियत राम्रै हुनेछ, तर ऋणसापटी र लेनदेनमा सतर्क रहनु राम्रो हुन्छ । पूँजी निवेश र लगानीका लागि वातावरण राम्रो छ, तर नयाँ मानिस, नयाँ ठाउँ र नयाँ कम्पनीमा कारोबार नगर्नु राम्रो हुन्छ । कानुनी झमेलाबाट टाढा रहनु पर्छ । समग्रमा धनु राशिका व्यक्तिहरूले यो वर्ष सचेत र संयम भई काम गर्दा राम्रो लाभ प्राप्त गर्न सक्नेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
याे बर्ष मकर राशिका जातकले व्यक्तिगत स्वास्थ्यस्थिति र पारिवारिक जीवनका केही समस्याबाहेक समग्रमा राम्रै परिणाम प्राप्त गर्ने सम्भावना देखिन्छ । जीवनसाथी र परिवारजनमा असन्तुष्टि र खटपट यथावत रहने छ । समस्या समाधानका लागि अत्यन्त सावधान हुनुपर्छ, किनभने व्यक्तिगत समस्यालाई बल्झाउन घरपरिवारकै र नजिकैका मानिसहरू सक्रिय देखिएका छन् । बोलीवचनमा संयमता अपनाउनु होला । कामको चाप र तनाव बढ्ने छ, तर चिन्तित हुनु र असंयमित हुनु लाभप्रद हुँदैन, उल्टै मानसिक सन्तुलन गुम्ने डर हुन्छ, टाउको दुख्ने समस्या बल्झिन सक्छ । उता पाचनप्रणालीमा पनि राम्रो सङ्केत छैन । वर्षको सुरुमा आठौं बृहस्पति रहेकाले पितामाताको स्वास्थ्यप्रति समेत सचेत हुनुपर्छ । तर आफूमुनिका नातेदार र छोराछोरीका तर्फबाट खुसीको समाचार सुन्न पाइने छ । यसबाहेक बन्दव्यापार र नोकरी गर्नेका लागि यो वर्ष केही राम्रा परिणाम प्राप्त हुनेछन् । कार्यक्षेत्रमा प्रशंसा पाइने छ । व्यापारीले सरकारी कारोबारबाट लाभ पाउने छन्। वैदेशिक क्षेत्र, आयातनिर्यातका कारोबारबाट उन्नति हुनेछ । अगस्टपछि बृहस्पति भाग्यभावमा आउने र राशिको मालिक शनिश्चरको वर्षभरि पूर्णदृष्टि रहने भएकाले अत्तालिने परिस्थिति छैन, धैर्य, संयम र नियन्त्रित भई व्यवहार गर्न सकेमा सबै पक्षमा राम्रो प्रतिफल पाउन सकिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका जातकका लागि नयाँ वर्ष को सुरुको सात महिना अत्यन्त शुभ सङ्केत लिएर उपस्थित भएको छ । जीवनका विविध आयाममा महत्त्वपूर्ण उपलब्धी र सुखसम्मृद्धि प्राप्त हुनेछ । वर्षको सुरुमा केही समय आठौं घरमा बक्री बृहस्पति हुने भएकाले केही कठिनाइ र झन्झट आइलाग्न सक्छन्, तर समग्रमा समय असल नै रहने छ । गृहस्थी जीवनमा नयाँ वर्षमा सामान्य संवेदनशीलता अपनाए हुन्छ । वर्षको अधिकांश समय बृहस्पति सातौं भावमा हुने भएकाले प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा सुमधुरता प्राप्त हुनेछ । वैदेशिक क्षेत्रका कामबाट लाभ मिल्ने सम्भावना छ । स्वास्थ्य सबल नै छ, तर यौन, गुप्ताङ्ग वा पाचनशक्तिका समस्याले दुःख दिने सम्भावना भने देखिन्छ । आर्थिक पक्ष बलियो बन्नेछ, वित्तीय कारोबारबाट लाभ मिल्नेछ । सँगीसाथी र घरपरिवारका सदस्यहरूले सकेको सहयोग गर्नेछन् । नयाँ ठाउँमा लगानी वा पूँजी निवेशको सम्भावना देखिन्छ । यो वर्ष तपाईंको लगनशीलता, मिहिनेत र परिश्रमको परीक्षणको समय हो । नोकरी र बन्दव्यापारमा लागेकाहरूका लागि अझ धेरै राम्रो छ । पदोन्नति र आर्थिक लाभ हुनेछ । समग्रमा नयाँ वर्षले तपाईंको परिश्रमको सम्पूर्ण शुभ परिणाम प्रदान गर्ने सङ्केत छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिका जातकका लागि नयाँ वर्ष ले मानसम्मान र इज्जतप्रतिष्ठा प्रदान गर्ने सङ्केत छ । सामान्यतया सबै क्षेत्रबाट मिश्रित परिणाम प्राप्त हुनेछन् । तर राशिमा विचरणशील केतुका कारण केही अप्ठ्यारा र उल्झन यथावत रहने छन् । वर्षको सुरुमा राशिको मालिक बक्री हुने र अधिकांश समय छैठौं घरमा बस्ने भएकाले घरगृहस्थी सञ्चालनमा केही समस्याहरू देखिन सक्छन् । उता बन्दव्यापार र व्यापारिक प्रतिष्ठानमा पनि केही विवाद र समस्या देखिन सक्छन् । अप्रत्याशित ढंगले खर्चको मात्रा बढ्नसक्छ । स्वास्थ्यप्रति सचेत हुनुपर्छ, आन्द्रा, कलेजो र मिर्गौला यस वर्षका लागि कमजोर अङ्ग हुनेछन् । तर अगस्टपछि एकाएक समय तपाईंको पक्षमा आउने छ । परिवारमा खुसीको वातावरण सञ्चरण हुनेछ, कारोबारमा गतिशीलता आउने छ । नयाँ उद्योगधन्दा र प्रतिष्ठानतर्फ ध्यान केन्द्रित हुनेछ । नोकरी र बन्दव्यापारमा लागेकाहरूले प्रारम्भका केही समय सामान्य विघ्न र बाधा ब्यहोर्नु पर्छ, तर दिन बित्दै जाँदा परिस्थितिमा सुधार हुँदै जान्छ । समग्रमा यो वर्षको सुरुमा केही उल्झन, तनाव र अप्ठ्यारा भोगेर अगस्ट महिनापछि सबै पक्षमा सुधार हुनेछ । प्रेमसम्बन्ध, पेसा वा व्यवसाय, नोकरी, शिक्षादीक्षा, घरपरिवार सबै पक्षमा वर्षको उत्तरार्द्धमा शुभफल प्राप्त हुने सङ्केत छ ।

प्रकाशन मिति–२०७३ साल बैशाख १ गते बुधवार ।